close

तीन जिल्ला घुमेर बल्ल सदरमुकाम

तीन जिल्ला घुमेर बल्ल सदरमुकाम

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लाभित्र सडक नपुगेका गाउँबाट ओखलढुंगा सदरमुकाम आउन तीन जिल्ला घुम्नुपर्ने बाध्यता छ । लिखु र खिजीदेम्वा गाउँपालिकाका नागरिक सदरमुकाममा कामविशेषले आउँदा छिमेकी तीन जिल्ला घुम्नुपर्ने बाध्यता भएको हो । 


लिखुका ९ वडा र खिजीदेम्वा गाउँपालिकाका वडा नम्बर १ एवं २ तथा सुनकोसी गाउँपालिकाका वडा १, २, ३ र ४ का वासिन्दा  छिमेकी रामेछाप, सिन्धुली र उदयपुर घुमेर मात्रै सदरमुकाम आउँछन् ।  खिजीदेम्वाबाट सदरमुकाम आउने सडक सोलुको टाप्टिङ हुँदै आउँछ । यो जेठमै वर्षाका कारण बन्द भएको छ ।


लिखु गाउँपालिकादेखि सदरमुकामसम्म ७० किलोमिटर छ । उक्त सडक अहिले बन्द छ । कच्ची सडक बन्द भएपछि लिखु तथा खिजीदेम्वाका सर्वसाधारण सदरमुकाम ओखलढुंगा तीन जिल्ला घुमेर आउजाउ गर्छन् । 


लिखुबाट मन्थलीसम्म आउन ३८ किलोमिटर सडक यात्रा गर्नुपर्छ । मन्थली हुँदै खुर्कोट, घुर्मी आउन मात्रै ७४ किलोमिटर घुम्नुपर्छ । यसरी उदयपुरको घुर्मी आउँदा १ सय १२ किलोमिटर पार गर्नुपर्छ । घुर्मीबाट थप ४२ किलोमिटर पार गरेपछि ओखलढुंगा आइपुग्दा १ सय ५४ किलोमिटर यात्रा गर्नुपर्छ ।  


जिल्लाभित्रका सडक सुचारु नहुँदा ७० किलोमिटरको यात्रा तीन जिल्ला घुमेर दोब्बर दूरी र भाडा तिरेर हिँड्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले ग्रामीण सडक स्तरोन्नति गर्नेभन्दा नयाँ खन्नेमा बजेट विनियोजन गर्दा भत्केका सडक मर्मत गरिएको छैन ।


खिजीदेम्वा-ओखलढुंगा र लिखु-ओखलढुंगा सडक जोडिए पनि खिजीदेम्वा जाने सडक हिमाली क्षेत्रमा रहेकाले वर्षामा ६ महिना बाटो बन्द हुने गरेको छ । त्यस्तै, चम्पादेवीको घोराखोरीदेखि ओखलढुंगासम्मको सडकसमेत वर्षात्कै कारण अवरुद्ध छ ।  

 

स्थानीय तहमा बैंक, मालपोत, प्रशासनलगायतका कार्यालय नपुगेकाले सर्वसाधारण नागरिकता बनाउन, जग्गा पास गर्न र बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता छ । यसका लागि लिखु र खिजीदेम्वाका नागरिक मन्थली हुँदै सिन्धुलीको खुर्कोट र उदयपुरको धुर्मी घुमेर मात्रै एक दिनको यात्रापछि सदरमुकाम आउनुपर्छ । 


मन्थलीसम्मको सडक पनि कच्ची भएका कारण यात्रा सहज छैन । आर्थिक कारोबार, जग्गा पास तथा नागरिकताका लागि तीन जिल्ला घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको लिखु गाउँपालिका- १ का हरि कार्कीले गुनासो गरे । साँघुटारबाट मन्थलीसम्म, त्यसपछि मन्थलीबाट सिन्धुलीको खुर्कोट र त्यहाँबाट ओखलढुंगा आउँदा तीन वटा बस फेरेर डेढ दिनमा सदरमुकाम आएको उनले बताए ।


लिखु तथा खिजीदेम्वाबाट हिँडेर यात्रा गर्न पनि डेढ दिन लाग्ने भएकाले सुविधाको खोजीमा सर्वसाधारण तीन जिल्ला घुम्ने गरेका छन् । 


त्यस्तै, चम्पादेवीको वडा-१ र २ तथा सुनकोशीको १, २, ३ र ४ वडाका नागरिक पनि सिन्धुलीको यी गाउँपालिकामा हिउँदमा मात्रै ग्रामीण सडक सुचारु हुने गरेका छन् । स्थानीय सरकारले कच्ची सडक मात्रै खन्ने मर्मत गरेर सवारी चलाउन बजेट व्यवस्था नगर्दा ग्रामीण भेगमा असारदेखि यातायात सञ्चालन भएका छैनन् । 


लिखु, चम्पादेवी र खिजीदेम्वा मात्र होइन, जिल्लाभित्रका अधिकांश ग्रामीण सडक असार लागेपछि बन्द छन् । सडक बन्द भए पनि स्थानीय सरकारले खुलाउने, मर्मत गरेको छैन । ओखलढुंगा-रागादीप, ओखलढुंगा-घोराखोरी, ओखलढुंगा कुइभीर, ओखलढुंगा-खिजीफलाटेलगायतका सडक वर्षा सुरु भएपछि पहिरोले अवरुद्ध छन् । 


सडक बन्द भएपछि खाद्यान्न ढुवानी र आउजाउमा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बाटो अवरुद्ध हुँदा नागरिकले दुःख पाएको चम्पादेवी वडा-७ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए ।


वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न पानी नरोकिएकाले समस्या भएको स्थानीय तहका प्रमुखहरूले बताउँदै आएका छन् । अघिल्लो वर्षको बजेट सकिएको र चालू बर्षको बजेट अख्तियारी नआएकाले तत्कालै विकास निर्माणका काम गर्न सकिने अवस्था नरहेको उनीहरूको भनाइ छ । 


भत्कीएका सडक पानी परिरहेको र मर्मत गर्दा एक-दुई दिनमै पुनः अवरुद्ध हुने भएकाले वर्षा कम भएपछि सडक स्तरोन्नति र मर्मतको काम सुरु हुने चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।