close

हुम्लामा पहिलो पटक भिस्याट जडान

हुम्लामा पहिलो पटक भिस्याट जडान

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा रहेको नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँदका बेला नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने समस्या हटाउन शुक्रबार भिस्याट जडान गरिएको हो । 


हिउँदको समय हुम्लीले टेलिफोन सेवा लिन नसकिरहेको अवस्थामा भिस्याट जडानपछि सेवा सुचारु हुने टेलिकम शाखा कार्यालय हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।


उनका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेको समय ऐनसेलबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो । 


केही दिनअघि जिल्लाको सर्केगाड गाउँपालिका वडा-२ रिप र सिमकोट गाउँपालिका वडा-७ को धारापोरीमा अवस्थित  बिग्रिएको  टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौंबाट सिमकोट पुगेको थियो । त्यसपछि बिग्रिएका टावर मर्मतसँगै  टेलिकम शाखा कार्यालय सिमकोटमा भिस्याट जडान गरिएको हो । 


‘विगतका वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा साता दिनदेखि १ महिनासम्म यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था  थियो ।

 

अब भिस्याट जडान भएकाले बेलैमा सम्बन्धित निकायमा जानकारी गराएर रेडियो लिंक मर्मत भई तुरुन्तै सेवा सुचारु हुनेछ’, सिमकोट टेलिकम शाखाप्रमुख भट्टराईले भने ।