close

बित्थडचिर गाउँपालिका र नमुना विद्यालयमा स्थानीयको ताला

बित्थडचिर गाउँपालिका र नमुना विद्यालयमा स्थानीयको ताला

Trulli
ADVERTISEMENT

बझाङ– बझाङमा शिक्षक भर्ना र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया नियमसंगत नभएको भन्दै बित्थडचिर गाउँपालिकामा तालाबन्दी गरिएको छ ।


गत सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।


स्थानीयले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा तालाबन्दी गरेका छन् ।


उनीहरूले सुनकुडा माविको विद्यालय व्यवस्थापन समिति पुरानै अध्यक्ष रमेश अधिकारीले एकलौटी ढंगबाट पुनः आफैं अध्यक्ष रहने गरी गठन गरिएको समिति खारेज गर्नुपर्ने, भेलाबाटै नयाँ समिति गठन हुनुपर्ने, शिक्षक भर्ना प्रक्रियामा अध्यक्षको भूमिका हुन नहुने र एकलौटी ढंगबाट गठन गरिएको समितिलाई काम गर्न रोक्नुपर्नेलगायत माग राखेका छन् ।


सुनकुडा माध्यमिक विद्यालयमा पुरानै अध्यक्ष अधिकारीले आफैं पुनः अध्यक्ष रहने गरी समिति गठन गरेका थिए । एकलौटी ढंगबाट व्यवस्थापन समिति गठन गरिएको भन्दै स्थानीय शेरसिंह कामीले जिल्ला अदालत बझाङमा रिट दायर गरेका थिए ।


उक्त मुद्दा अहिले उच्च अदालत दिपायलमा विचाराधीन छ । व्यवस्थापन समिति अध्यक्ष अधिकारीले अदालतमा मुद्दा चलिरहेकै बेला नातेदारलाई शिक्षक भर्ना गर्न नियमविपरीत हतारहतार शिक्षक दर्खास्त आह्वान गरेको स्थानीयको आरोप छ ।


विद्यालयले मंगलबारै शिक्षक छनोटका लागि परीक्षा तोकेको थियो । अदालतमा विचाराधीन मुद्दाको फैसला नहुँदै विद्यालयमा मावि तहको अंग्र्रेजी शिक्षक नियुक्ति गर्न लागेको भन्दै तालाबन्दी गरेको स्थानीय हर्क भाटले बताए ।


उनले भने, ‘विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेला एकलौटी ढंगबाट राती १२ बजे २–४ जनाले कोठाभित्र बसेर समिति गठन गरे । व्यवस्थापन समितिविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । गाउँपालिका जनप्रतिनिधि र शिक्षा शाखाका कर्मचारीको मिलेमतोमा नियमविपरीत शिक्षक भर्ना गर्न खोजिएकाले विद्यालय र पालिका केन्द्रमा ताला लगाएका हौं ।’


गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहराले समिति गठन प्रक्रिया र शिक्षक भर्नाको सम्बन्धमा आफूहरूको कुनै भूमिका नरहेको दाबी गरे । उनले पालिकामा उजुरीको विषयमा दुई पक्षबीच छलफल चलाउने प्रयास सफल नभएको र एक्कासि तालाबन्दी गरेको बताए ।


सोमबार मात्रै दिपायलस्थित उच्च अदालतका न्यायाधीश शेषराज शिवाकोटीको इजलासले मुद्दामा लिखित जवाफ मागेको छ ।