close

कर्मचारी नै बस्दैनन् बझाङका ७ स्थानीय तहमा

सदरमुकाममै छन् कर्मचारीका अफिस, जनतालाई न सेवा न सूचना

कर्मचारी नै बस्दैनन् बझाङका ७ स्थानीय तहमा

सदरमुकाममै छन् कर्मचारीका अफिस, जनतालाई न सेवा न सूचना

Trulli
ADVERTISEMENT

बझाङ– बझाङका सबै स्थानीय तहमा इन्टरनेट सेवा नहुँदा पालिकाबाट दिने सुविधा र सूचना पाउनबाट स्थानीय वञ्चित भएका छन् ।


१२ पालिका रहेको बझाङको सदरमुकाम चैनपुरमा पनि गुणस्तरीय इन्टरनेट सुविधा अझै पुग्न सकेको छैन । चैनपुरमा मात्र नेपाल टेलिकमको एडिएसएल सुविधा छ ।


पालिका कार्यालयमा इन्टरनेट नहुँदा तल्कोट, मष्टा, थलारा, साइपाल, सुर्मा, केदारस्युँ गाउँपालिकाका कर्मचारी सदरमुकामबाटै सेवा दिइरहेका छन् ।

 

‘इन्टरनेट नहुँदा कर्मचारी गाउँपालिकामै बस्न नमान्ने र अन्य काम सदरमुकामबाटै गर्न सहज भएकाले सदरमुकाममा कार्यालय भाडामा लिएर काम चलाउँदै आएका छौं,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने ।


अध्यक्ष धामीका अनुसार इन्टरनेट त परको कुरा फोन गर्न पनि गाउँपालिकाले ठूलै संघर्ष गर्नुपर्छ । इन्टरनेट, फोन र अन्य सञ्चार माध्यममको पहुँचबाट बाहिर रहेको साइपाल गाउँपालिकामा संघीय सरकारका नीति, निर्देशन, सूचना पाउन समस्या छ ।


थलारा, केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दुखेसो पनि उस्तै छ । इन्टरनेट नहुँदा बत्तिमुनिको अध्याँरो जस्तै हुने गरेका थलारा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अनिल कुमार विष्टले बताए ।


नेपाल टेलिकमको लिज लाइन प्रविधिको इन्टरनेट जोडेको भए पनि इन्टरनेट नचल्दा सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको केदारस्युँ गाउँपालिकाका आइटी प्रमुख लेखराज रावलले बताए ।


दुर्गाथली गाउँपालिका, वित्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, बुंगल नगरपालिकाका कर्मचारीले मात्रै आफ्नै कार्यालयबाट काम गर्दै आएका छन् । यी स्थानीय तहमा मर्कन्टाइलले इन्टरनेट सुविधा दिएको छ । वित्थडचिरले लिज लाइनबाट काम चलाउँदै आएको छ ।


संघीय र प्रदेश सरकारबाट वा अन्य ठाउँबाट आएका सूचना, बजेट लगायतका कुरा हेर्नसमेत पालिकामा इन्टरनेट नभएको पालिकाहरुको भनाइ छ । नेपाल टेलिकमले बझाङमा १८ टावरबाट सेवा दिए पनि अझैं टेलिफोन र इन्टरनेटको पहुँच पुगेको छैन ।


सजिलो छैन इन्टरनेट

 

बझाङका सबै स्थानीय तहमा इन्टरनेट सेवा विस्तार गर्न सजिलो नभएको शिखर नेटको सुदूरपश्चिमका सम्पर्क व्यक्ति जनक जोशी बताउँछन् । उनका अनुसार बझाङमा भौगोलिक वनावट र चट्याङको खतराले गर्दा इन्टरनेट विस्तारमा समस्या हुने गरेको छ ।


एक वर्षमा चट्याङ्कै कारण १० लाख घाटा भएको उनले बताए । जोशीले बझाङका विभिन्न स्थानीय तहमा इन्टरनेट पु¥याउने कोशिस गरेको तर असफल भएको बताए । वल्र्डलिङ्कले बझाङ सदरमुकाम चैनपुरका बैंकहरुलाई मात्रै सेवा दिएको छ । अन्य इन्टरनेट बझाङमा भित्रिएका छैनन् ।