close

एउटा पुलले महँगो पार्दै छ जिन्दगी...

जडांगको पुल भत्किदा एक किलो चिनीलाई १५०, तीन जिल्लामा सास्ती

एउटा पुलले महँगो पार्दै छ जिन्दगी...

जडांगको पुल भत्किदा एक किलो चिनीलाई १५०, तीन जिल्लामा सास्ती

Trulli
ADVERTISEMENT

बाजुरा- गत साउन/भदौको बर्खाको भेलको बाढीपहिरोले बगाएको जडांग नदीको बेलब्रिज अझै निर्माण हुन सकेको छैन । गत २५ साउनमा आएको बाढीपहिराले बगाएको सो पुल चार महिनासम्म पनि निर्माण हुन नसकेको हो ।


साँफे–मातर्डी सडक खण्डअन्तर्गत बाजुराको बूढीगंगा नगरपालिकामा रहेको जडांग बेलब्रिज अवरुद्ध हुँदा अहिले स्थानीय र सवारीसाधन आउजाउमा समस्या पर्दै आएको छ ।


बाजुरालगायत हुम्ला, मुगुका स्थानीयको आउजाउको मुख्य मार्ग रहेको साँफे– मार्तडी सडक खण्डअन्तर्गत पर्ने जडांग नदीमा पुल निर्माण नहुँदा यात्रु र स्थानीय कृषि उपज बजार पु¥याउन नागरिकले सास्ती बेहोर्दै आएका छन् ।


पुल बगाएको करिब चार महिना हुन लाग्दा पनि सरोकारवाला निकाय मुकदर्शक बनेको स्थानीयको आरोप छ । तीनै तहका सरकारले पुल निर्माणमा चासो नदिएको उनीहरूको गुनासो छ ।


‘बर्खाको भेलले बगाएको पुलका कारण अवरुद्ध सडक समयमा नबन्दा स्थानीयका साथै व्यापारीलाई समेत सामान ढुवानी गर्न समस्या भएको छ’, कोल्टीका व्यापारी अग्निराज शाहीले भने, ‘सामान धनगढी, काठमाडौं, नेपालगञ्जलगायतबाट ढुवानी गर्नुपर्छ । अहिले सडक अवरुद्ध भएका कारण समयमा सामान ढुवानी गर्न नपाउँदा व्यवसाय चलाउन मुस्किल छ ।’


चैतदेखि लकडाउन र साउनदेखि सडक अवरुद्ध भएपछि सामान ढुवानीमा सास्ती बेहोर्नु परेको उनले बताए । ठूला व्यापारीले हवाई जहाजबाट ढुवानी गरे पनि साना व्यापारीलाई जहाज भाडा तिर्नै मुस्किल रहेको उनको गुनासो छ ।


बाजुरामा व्यापारीले एक किलो सामान ढुवानी बराबर १ सय १० रुपैयाँ तिर्न बाध्य छन् । नेपालगञ्जदेखि सामान ढुवानी गरेबापत एक किलोको एक सय १० रुपैयाँ तिर्नु परेको अर्का व्यापारी लंक कैलाले बताए ।


‘गाडीबाट सामान ल्याउँदा तीन–चार ठाउँमा गाडी फेर्नुपर्छ । सामान पनि कति आउँछ, कति फुटछ, छुट्छ पत्तै हुँदैन । त्योभन्दा जति मूल्य भने पनि प्लेनमा ल्याउनु पर्ने अवस्था छ’, कैलाले भने ।


सामानको मूल्य अचाक्ली


बाजुरा हरेक वर्ष बाढीपहिरोको चपेटामा पर्छ । भिरालो जमिन र कमजोर भूगोलका कारण बाजुरामा प्रत्येक वर्ष सडक अवरुद्ध हँुदै आएको छ ।


राज्यले जति लगानी गरे पनि ठेकेदारको लापर्बाहीले बाजुराका कच्ची÷पक्की सडक बर्खायाममा हुँदा स्थानीय हैरान हुने गरेका छन् । ‘बर्खाका कारण कहिले कच्ची सडक त कहिले पक्की सडक भासिने गरेका छन् । बाढीपहिराले कतै सडकै बगाउँछ त कतै पुलपुलेसा । अवरुद्ध सडक समयमा मर्मत नहुँदा समस्या छ’, स्थानीय गुनासो गर्छन् ।


सडक अवरुद्धको मार नागरिकलाई परिरहेको छ । ‘व्यापारीले बाटो अवरुद्धको समस्या देखाउँदै सामानको मूल्य हरेक दिन बढाउँदै लगेका छन् । कोल्टी बजारमा अहिले दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्म छोइनसक्नु छ’, स्थानीय राजेन्द्र विकले भने ।


दैनिक उपभोग्य वस्तु चामल, तेल, साबुन, चिनी, सुर्ती, चुरोट र खाना पकाउने ग्यासलगायत मूल्यमा दिनप्रतिदिन कालो बजारी भएरहेको विकले दाबी गरे ।


सडक अवरुद्ध र हवाई जहाजबाट सामान ढुवानी गरेको भन्दै व्यापारीले यसअघि दुई हजार दुई सयमा पाइने खाना पकाउने सिलिन्डरको मूल्य तीन हजार पाँच सय तिर्नु परेको उपभोक्ता सुनाउँछन् ।


यस्तै, एक किलो चिनीको मूल्य एक सय ५० र खुकुरी चुरोटको मूल्य दुई सय पर्छ । स्थानीय सरकार र उद्योग वाणिज्य संघले बजार अनुगमनमा चासो नदिँदा व्यापारीले मनपरी सामानको मूल्य असुल्दै आएका छन् ।

 
पुल चाँडै बनाइदिने आश्वासन


बाजुरामा साउनको भेलले बेलिब्रिजसँगै सडकलगायतका बस्ती बगाएको थियो । बाढीपहिराले बाजुरा नै क्षतविक्षत बनाएको एक सातापछि मात्र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा, संघीय सांसद लालबहादुर थापा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलगायतको टोलीले अनुगमन गरेको थियो ।


त्यसको केही समयपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले पनि बाढीपहिरो अवस्थाको स्थलगत अध्ययन गरेको थियो । संघीय र प्रदेश सरकारका उच्च पदस्थहरूको भम्रणका बेला बेलिबिज्र बगाएको ठाउँमा चाँडै अर्को बेलिबिज्र बनाउने आश्वासन स्थानीयले पाएका थिए ।


तर, प्रक्रियागत झन्झट र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक विभागले बताएको छ । साँफे–मार्तडी सडक खण्डको जडांगासम्म सडकसमेत खुलाउने काम भइसकेको छ । बेलिबिज्र बगाएको ठाउँमा पहिला स्थानीय अस्थायी तुइन बनाएर वारपार गर्ने गरेका थिए । पछि नेपाली सेना र स्थानीयको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आउजाउ गर्ने बनाइएको थियो ।

 
पानी फिँजाएर गाडी पास गर्ने योजना


जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बूढीगंगा नदीमा पानी फिँजाएरै भए पनि गाडी पास गरिने बताए । ‘स्थानीयले तुइनको माध्यमबाट आउजाउ गरे पनि गाडीलाई सम्भव हुँदैन । नदीको पानी पातलो पारेर गाडी पास गर्ने योजना भए पनि पानीको वहाब धेरै भएकाले अलि समस्या भएको हो’, उनले भने ।


२५ साउनको बाढीले बूढीगंगा नदीमा बेलिब्रिजसँगै झोलुंगे पुलसमेत बताएको थियो । नदी किनारका खेतीयोग्य जमिन र बस्तीमा भेल पसेर तहसनहस पारेको थियो ।

 

बडिमालिका नगरपालिकाको साँफे–मार्तडी सडक खण्डअन्तर्गत जडांग नदीमा माघभित्र बेलिबिज्र बनिसक्ने सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले दाबी गरे । ‘सडक डिभिजन कार्यालय साँफेबगरले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको छ । ठेक्का खोलेर सम्झौता प्रक्रियामा अगाडि बढिसकेकाले चाँडै पुल निर्माण हुन्छ’, खनालले भने  ।


एमएस  एमके बिल्डर्स एन्ड कन्स्ट्रक्सन धनगढी कैलालीको नाममा ठेक्का स्वीकृत गर्ने आशय निकालिसकेको छ । कैलालीको गोदावरीमा मौज्दात बेलिब्रिज ल्याउने गरी काम सुरु भएको उनले बताए ।


‘मार्तडीसम्म चाँडोभन्दा चाँडो गाडी पु¥याउन लागिपरेका छौं’, खनालले भने । नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्क विच्छेद भएको थियो ।


‘पुरानै बगाएको ठाउँ हेरेरै बेलिबिज्र निर्माण गर्ने लागेका छौं’, सडक डिभिजन कार्यालय साँफे बगरका इन्जिनियर दमन विष्टले भने ।