close

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, २५ जनाभन्दा बढी भेला हुन नपाइने

वालिङमा ‘जनस्वास्थ्य विपद्’ घोषणा, २५ जनाभन्दा बढी भेला हुन नपाइने

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यकबाहेकका सबै सेवाहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । वालिङ नगर कार्यपालिकाको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।


वालिङस्थित गर्हैं प्राथमिक अस्पतालको ‘र्‍यापिड रेस्पोन्स टिम’को बैठकले वालिङमा कोभिड संक्रमित बिरामीको संख्या बढ्दै गएकाले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड- १९ संक्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।


‘बन्दाबन्दी सुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बस्नेहरूमा भन्दा कात्तिक महिनामा मात्र संक्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौँ’, नगरप्रमुख खाँणले भने ।


जनस्वास्थ्य ऐन, २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली, २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसहरूको भीडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यकबाहेकका सवारी साधन संचालनमा रोक लगाउनुका साथै सभा, समारोह नगर्न र नगराउन अनुरोध गरिएको उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् ।


नगरपालिकाभित्र सभा, समारोह, धार्मिक एवं सांस्कृतिक कार्यहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।


वालिङ नगरपालिकामा हालसम्म १६९ जना संक्रमित भएकामा १४३ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने २३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यहाँ हालसम्म तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।