close

केन्द्रीय प्रसारण लाइनबाट जोडिँदै आठबिसकोट

केन्द्रीय प्रसारण लाइनबाट जोडिँदै आठबिसकोट

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमको सबैभन्दा विकट आठबीसकोट नगरपालिकामा  स्थानीय चुनाव हुनुअघि तीन प्रतिशत नागरिक मात्रै विद्युत्को पहुँचमा थिए । आठबिसकोटमा अहिले पनि स्थानीय उत्पादनको विद्युत्बाहेक नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । 

 

जिल्लाका अन्य पाँच स्थानीय तहमा भने प्राधिकरणको लाइन पुगिसकेको छ । आठबिसकोटका सबै घरधुरीमा अर्को वर्षसम्म विद्युत् पुग्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा नगरका सबै १० हजार घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने नगरपालिकाले जनाएको छ । 

 

यो आर्थिक वर्षमा धेरै घरमा विद्युत् पुग्ने र बाँकी रहेका घरमा अर्को आर्थिक वर्षमा पुर्‍याइने नगरप्रमुख गोर्खबहादुर केसीले बताए । त्यसका लागि काम भइरहेको उनको दाबी छ ।

 

‘मंसिरभित्रै नगरका १०, ११, १२ र १३ नम्बर वडामा केन्द्रीय प्रसारण लाइनको बत्ती बलिसक्छ’, नगरप्रमुख केसीले भने, ‘झिन्चौर, घारीखोला, चौर, भल्मा, पिपलचौरलगायतमा यसै महिनाभित्र बत्ती बाल्ने योजना छ ।’ यस्तै, नगरको सबैभन्दा विकट गाउँ  छिमी र मन्कामा पनि यसै वर्ष विद्युत् पुग्ने भएको छ । 

 

यसका लागि दुई करोड बजेट प्राप्त भएको नगर प्रमुख केसीले जानकारी दिए । उनका अनुसार  विद्युत् प्राधिकरण मुसीकोट शाखाले छिमी र मन्कामा विद्युत् पु¥याउन दुई २ करोड बजेट खर्च गर्दै छ । विद्युत् प्राधिकरणले नगरमा तीन करोड खर्चिन लागेकामा छिमी र मन्कामा विद्युतीकरणका लागि मात्र दुई करोड खर्च हुनेछ । 

 

यी दुई गाउँमा चालू आवभित्रै  बत्ती बालिसक्ने गरी छिट्टै काम सुरु हुने नगरप्रमुख केसीले बताए । ‘यसका लागि केही दिनमै ठेक्का आह्वान गर्छौं । त्यहाँका ८० घरपरिवार पहिलो पटक विद्युत्को पहुँचमा पुग्नेछन्’, केसीले भने । आठबिसकोट जिल्लाको सबैभन्दा दुर्गम पालिकाका हो । अहिलेसम्म यहाँका करिब २५ प्रतिशत नागरिक मात्र विद्युत्को पहुँचमा छन् । 

 

प्राधिकरणको योजना


चालू आर्थिक वर्षभित्र जिल्लाका सबै स्थानीय तहका ९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार गर्ने विद्युत् प्राधिकरणको योजना छ । वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईका अनुसार हाल विद्युत् विस्तारको काम तीव्र गतिमा भइरहेकाले यस आर्थिक वर्षभित्रै जिल्लाका अधिकांश घरधुरीमा विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।

 

उनका अनुसार जिल्लाभर ३३ हजार घरधुरी रहेकामा हाल ११ हजार घरधुरीमा विद्युत् विस्तार भइसकेको छ । हाल आठबिसकोटबाहेक अन्य स्थानीय तहका अधिकांश वडामा विद्युत् विस्तार भइरहेको छ ।

 

मुसीकोट नगरपालिकाका ९० प्रतिशत, चौरजहारी नगरपालिकामा ६० प्रतिशत र बाँफीकोट गाउँपालिकामा ९० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । त्यस्तै, सानीभेरी गाउँपालिकामा ३० प्रतिशत र त्रिवेणी गाउँपालिकामा ६० प्रतिशत घरधुरीमा विद्युत् विस्तार भइसकेको छ ।

 

‘जिल्लाको दुर्गम क्षेत्र भनेको आठबिसकोट नगरपालिका नै हो, जहाँ अहिले केन्द्रीय विद्युत्को पहुँच  पुगेको छैन । अब विद्युत् विस्तारका लागि तार तान्ने काम भइरहेको छ,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘आर्थिक मसान्तभित्र करिब २५ देखि ३० हजार घरधुरीसम्म विद्युत् विस्तार हुन्छ ।’

 

कोरोना प्रभावले विद्युत् विस्तारलाई खासै प्रभाव नपारेकाले लाइन तान्ने काम धमाधम भइरहेकाले राखिएको लक्ष्य पूरा हुनेमा कुनै शंका नभएको कार्यालयको भनाइ छ ।