close

बल्ल आयो दमकल

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– नवलपरासीको बर्दघाट नगरपालिकाले आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि दमकल खरिद गरेको छ । नगरले विद्युतीय बोलपत्रमार्फत आर्थिक वर्ष २०७६/०७७ मा दमकल खरिद प्रक्रिया सुुरु गरेको थियो ।


नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बढ्दो सहरीकरणसँगै आगलागीबाट हुने जोखिम न्यूनीकरण गर्न दमकल खरिद गरिएको जानकारी दिए । ‘आफ्नै लगानीमा नगरले दमकल खरिद गरेको हो’, उनले भने ।


यसअघि दमकल खरिद जिम्मा अटो ओएज कम्पनी बुटवलले पाएको थियो  । ६० लाख रुपैयाँ दमकल खरिद गरिएको  नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले बताए ।

 

गत आर्थिक वर्षबाट उक्त तयारी भए पनि कोरोना लकडाउनले दमकल खरिद हुन सकेको थिएन । २०७७ कात्तिक मसान्तसम्म दमकल ल्याउने सम्झौता नगर र कम्पनीबीच भएको थियो । नगरमा आगलागी हुँदा दमकल अभावले बर्सेनि लाखौं रुपैयाँको क्षति पुग्ने गरेको छ । आगलागीका घटनाबाट व्यावसायिक प्रतिष्ठानका साथै बस्तीमा समेत क्षति हुँदै आएको छ ।


यसअघि नगरप्रमुख बस्यालको कार्यकक्ष र पाठक खाद्य मसला उद्योगमा आगलागी हुँदा दमकलको विषय चर्चामा आएको थियो ।


निजी क्षेत्रले दमकल खरिदबारे चासो व्यक्त गर्दै आएको थियो । ‘हाम्रो चासो र चिन्ता अब हटेको छ’, बर्दघाट उद्योग वाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपानेले भने, ‘आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न दमकल खरिद गरेपछि स्थानीयलाई सहज हुनेछ ।’


नगरमा दमकल नहुँदा रामग्राम र बुटवल उपमहानगरबाट ल्याउनुपर्ने बाध्यता थियो । जिल्लाको पुरानो नगरपालिका रामग्राममा एउटा मात्र दमकल छ । उक्त दमकलले जिल्लाका ७ वटै पालिका, रुपन्देहीका केही पालिका र नवलपुरसम्म सेवा दिँदै आएको छ । नवलपुरस्थित कावासोती नगरमा पनि दमकल छ ।