close

सुत्केरीको उद्धारमा गाउँपालिकाको सहयोग

सुत्केरीको उद्धारमा गाउँपालिकाको सहयोग

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकाले वडा- ६ की गर्भवती कविता सार्कीको हवाई जहाजमार्फत उद्धार गरेको छ । घरमा सुत्केरी हुन नसकेर २२ वर्षीया सार्कीको अवस्था जटिल भएपछि थप उपचारका लागि हवाई जहाजमार्फत नेपालगंज रिफर गरिएको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।


गाउँपालिका अध्यक्ष कालीबहादुर शाही र प्रवक्ता विकको पहल तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको समन्वयमा समिट एयरको जहाजमार्फत उनलाई कोल्टीबाट नेपालगंज थप उपचारका लागि लगिएको हो ।

 

‘पहिलो पटक सुत्केरी हुन लागेकी सार्कीको अवस्था जटिल हुन सक्ने कोल्टीस्थित स्वास्थ्य कार्यालय बताएपछि सुविधा सम्पन्न नेपालगंजको कोहलपुर मेडिकल कलेजमा भर्ना गरेका हौँ’, गाउँपालिका अध्यक्ष शाहीले भने ।


सार्कीले कोहलपुर अस्पतालमा शल्यक्रिया गरेर छोरालाई जन्म दिएको उनका श्रीमान्ले बताए । अहिले आमा र छोराको अवस्था सामान्य रहेको उनको भनाइ छ ।


यसअघि बच्चा पाठेघरमा बसेको र दिसासमेत गरेकाले आमाको अवस्था जटिल भएको स्वास्थ्यकर्मीले जानकारी दिएका थिए । घरमा सुत्केरी व्यथा लागेपछि सार्कीका आफन्तले नजिकैको स्वास्थ्य संस्था लगेका थिए । उनको अवस्था जटिल भएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो ।


कोल्टीले पनि अवस्था जटिल भएकाले उपचार गर्न नसकिने सार्कीको परिवारलाई जानकारी दिएको थियो ।


त्यसपछि आर्थिक स्थिति कमजोर रहेको सार्की परिवारसँग सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सक्ने ल्याकत थिएन । सुरुमा गाउँपालिका अध्यक्ष शाहीलगायतका जनप्रतिनिधि पालिकामै नभएपछि सार्कीलाई उद्धार गर्न झनै समस्या भएको थियो ।


तर, गाउँपालिका अध्यक्षले घटनाबारे जानकारी पाएपछि गर्भवती सार्कीलाई जहाजमार्फत कोहलपुर पुर्‍याइएको हो ।