रामेछाप– रामेछापको लिखुतामाकोसी गाउँपालिका– ४ धोवीका वीरबहादुर र डिल्लीबहादुर सुनुवार उमेरले ५० कटिसके । उमेर ढल्कँदै जाँदा उनीहरूको मनमा एउटै प्रश्न उब्जिरह्यो, आफूहरूले जस्तै आउने पुस्ताले पनि गाउँमै उपचार नपाएर छटपटाउनु पर्ने हो कि ?
सुनुवार दाजुभाइको मनमा पौडी खेलेको यो प्रश्न सधैँका लागि अन्त्य भएको छ । दुई दाजुभाइलाई देशैभर एकै पटक ३ सय ९६ आधारभूत अस्पतालको भवन शिलान्यास हुने दिन जुरेको रहेछ ।
शिलान्यास हुने दिनसम्म अस्पताल कहाँ बनाउने भनेर गमिरहेको लिखुतामाकोसी गाउँपालिकालाई सुनुवार दाजुभाइले निःशुल्क जग्गा दिएर गुन लगाएका छन् ।
सुनुवार दाजुभाइले गाउँपालिकालाई अहिलेको मोलमा बेच्दा १ करोड रुपैयाँ पर्ने जग्गा निःशुल्क दान दिएका हुन् । जग्गादाता सुनुवार दाजुभाइ यतिखेर खुसी देखिन्छन् । निःशुल्क गाउँ सरकारलाई दिएको जग्गामा आफ्नै घरमाथि अस्पताल बन्दै छ ।
‘निःशुल्क पास गरेर दिएको जग्गामै प्रदेश सांसद र गाउँपालिकाका कार्यवाहक अध्यक्षले २ वर्षभित्र अस्पताल बनाउने वाचासहित शिलान्यास गरेपछि मात्र आफ्नै गाउँमा अस्पताल बन्ने निश्चित भयो । हामी निकै खुसी छौँ, ‘जग्गादाता डिल्लीबहादुर सुनुवारले भने ।
गाउँमै अस्पताल नहुँदा समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दाको पीडालाई सम्झेर पनि निःशुल्क जग्गा दिइएको उनले बताए । यहाँ अस्पताल बन्ने भएपछि सहरका अस्पताल जान नसक्नेहरूका लागि ठूलो सहयोग पुग्ने उनको दाबी छ ।
‘सरकारले गाउँबासीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर गाउँमै अस्पताल बनाउने योजना ल्याउनु सकारात्मक हो । निःशुल्क दान दिएको जग्गामा चाँडै अस्पताल बनोस्’, अर्का जग्गादाता वीरबहादुरले भने ।
सुनुवार दाजुभाइले करोडमाथिको जग्गा निःशुल्क दिएपछि पहिलो चरणमै अस्पताल शिल्यान्यास गर्न सकिएको लिखुतामाकोसी वडा– ४ का वडाध्यक्ष लीलाबहादुर बस्नेतले बताए । उनले भने, ‘सुनुवार दाजुभाइको यो योगदान कहिल्यै बिर्सन सकिँदैन । हामी चाँडै अस्पताल निर्माण सम्पन्न हुने गरी काम गर्छौं ।’
करोडौँ मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएर अस्पताल बनाउन सहयोग पु¥याउने सुनुवार दाजुभाइ सम्मानका पात्र हुन्’, गाउँपालिका कार्यवाहक अध्यक्ष दीपशिखा दाहालले भनिन्, ‘गाउँमै अस्पताल चाहिने रहेछ भनेर जग्गा दिनेहरूलाई हामी निराश बनाउँदैनौँ ।’
वडाध्यक्ष लीलाबहादुर बस्नेतका अनुसार १५ शय्याको अस्पताल बनाउन कम्तीमा ९ रोपनी जग्गा आवश्यक पर्ने भएकाले स्थानीय डिल्लीबहादुर सुनुवारले ४ रोपनी र वीरबहादुर सुनुवारले १ रोपनी १२ आना जग्गा अस्पताललाई दिएका छन् । बाँकी ३ रोपनी ४ आना जग्गा पनि अर्का स्थानीय रेखबहादुर सुनुवारले निःशुल्क दिने बाचा गरिसकेको वडाध्यक्ष बस्नेतले बताए ।
अस्पताल बनाउन करोड हाराहारी पर्ने जग्गा निःशुल्क दिएपछि डिल्लीबहादुर र वीरबहादुर सुनुवारलाई गाउँपालिकाले सम्मानसमेत गरेको छ । गाउँपालिकाको केन्द्रमा बन्न लागेको अस्पतालबाट लिखुतामाकोसी र छिमेकी ओखलढुंगाका नागरिकले समेत सेवा पाउनेछन् ।