close

रुकुम पश्चिमका चार स्थानीय तहको आफ्नै प्रहरी

रुकुम पश्चिमका चार स्थानीय तहको आफ्नै प्रहरी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिमका चारवटा स्थानीय तहले नगर प्रहरी भर्ना गरेका छन् । चौरजहारी नगरपालिकाले २६ जना नगर प्रहरी भर्ना गरेसँगै जिल्लामा नगर प्रहरी भर्ना गर्ने स्थानीय तहको संख्या चार पुगेको हो ।


पछिल्लो पटक चौरजहारी नगरपालिकाले थप गरेका र जिल्लामा सबैभन्दा पहिला सानीभेरी गाउँपालिकाले भर्ना गरेका नगर प्रहरीले सँगै तालिम गरेका छन् ।


चौरजहारीका २६ र सानीभेरीका पाँच गरी ३१ ज्ना नगर प्रहरीले ९० दिनको आधारभूत तालिम पूरा गरेका हुन् । २६ जना पुरुष र पाँच जना महिला नगर प्रहरीले आधारभूत तालिम पूरा गरेसँगै आज उनीहरूलाई दज्र्यानी चिह्न र प्रमाणपत्र प्रदान गर्दै जिल्ला प्रहरी कार्यालयले बिदाई गरेको छ ।


जिल्ला प्रहरी कार्यालयले दुईवटा स्थानीय तहका नगर प्रहरीलाई आधारभूत तालिम दिएको हो । आज दीक्षान्त समारोहको आयोजना गरी तालिम पूरा गर्ने नगर प्रहरीहरूलाई दज्र्यानी चिह्न र प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


चौरजहारी नगरपालिकाले प्रहरी सहायक निरीक्षक तीन जना, २२ जना जवान र एक जना भान्से भर्ना गरेको छ, जसमा तीन जना महिला छन् । सानीभेरी गाउँपालिकाले भने तीन पुरुष र दुई महिला गरी पाँचै जना जवान भर्ना गरेको छ ।


जिल्लामा सबैभन्दा पहिला सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मै पाँच जना प्रहरी भर्ना गरेको थियो । १५ दिनको सामान्य तालिमपछि सेवामा रहेका उनीहरूले भर्ना भएको झण्डै तीन वर्षपछि आधारभूत तालिम पाएका हुन् । त्यसपछि जिल्लामा आठबीसकोट नगरपालिका र मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेका थिए ।


प्रहरी नायव निरीक्षकले नेतृत्व गर्ने गरी आठबीसकोटले २२ र प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने गरी मुसिकोट नगरपालिकाले १५ जना नगर प्रहरी भर्ना गरेका थिए । दुई नगरपालिकाका नगर प्रहरीले पनि सँगै तालिम लिएका थिए । अब जिल्लामा ६८ जना नगर प्रहरी स्थानीय तहबाटै तलबभत्ता खाने गरी कार्यरत छन् ।