close

काठमाडौं महानगरले मेलम्चीसँग गाँस्यो साइनो

काठमाडौं महानगरले मेलम्चीसँग गाँस्यो साइनो

Trulli
ADVERTISEMENT

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । अन्तरस्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरी विकासमा सहयोग पुर्‍याउने उद्देश्यले २ नगरबीच भगिनी सम्बन्ध स्थापना भएको हो । 


अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी-पत्रमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले हस्ताक्षर गरे ।

 

‘काठमाडौंबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशमा छन् । काठमाडौंबासीलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरिएपछि मेलम्ची र काठमाडौंबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका छौँ ।’

 

काठमाडौं महानगर र मेलम्चीबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनापछि आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीचमा अनुभव आदान-प्रदान तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरणका लागि थप प्रयास हुने महानगरप्रमुख शाक्यले बताए ।

 

यसअघि नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रवर्द्धन र पार्क निर्माणका लागि काठमाडौंका १० वटा र मध्यपुर थिमि नगरपालिकासँग पनि साझेदारी गरिसकेको छ । 

 

शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य महानगरपालिकाले गरिरहेकाले यसबाट पर्या-पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । महानगरबासीबाट पनि यस्तो कार्यबाट सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ । 


‘मूर्त-अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै त्यसको संरक्षणमा दत्तचित्त भएर काठमाडौं महानगर लागेको छ । एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुन सक्छ । त्यसैले हामीले पहिलो चरणमा ७ प्रदेशका ७ स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने तयारी गरेका छौँ’, महानगरप्रमुख शाक्यले भने ।

 
सोही अभियानअन्तर्गत लुम्बिनी प्रदेशको रामग्राम र कर्णाली प्रदेशको चन्दननाथसँग भगिनी सम्बन्ध स्थापना भइसकेको र तेस्रो नगरका रूपमा बागमती प्रदेशको मेलम्ची नगरपालिकासँग सम्बन्ध स्थापना गरिएको जानकारी उनले दिए । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम संघीय राजधानी राजधानीमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्वको काठमाडौं महानगर र प्राकृतिक स्रोत-साधनसम्पन्न पर्यटकीय नगर मेलम्चीबीच भगिनी सम्बन्ध स्थापना गरेको महानगरले जानकारी दिएको छ । 


भगिनी सम्बन्ध स्थापनालगत्तै काठमाडौँ महानगरले आव २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत नगर-नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्बन्ध स्थापना भएको मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रूपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी सम्झौता भएको छ । 


महानगरले समझदारीपछि मेलम्ची नगरपालिका वडा नम्बर १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता-पत्रमा हस्ताक्षर भयो ।

 

सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गरे । कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख अर्यालले काठमाडौंबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यसले थप प्रगाढ हुने बताए । 


उनले काठमाडौंबासीले मेलम्चीको पानी जतिसक्दो छिटो उपयोग गर्न पाउन् भन्नेमै आफूहरू रहेकाले मेलम्चीबासीका पनि केही माग सम्बन्धमा सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए । त्यसमा सहजीकरण गर्न महानगरपालिकासँग उनले आग्रह गरे ।

 

वार्षिक करिब ५० करोड रुपैयाँको दूधसँगै दाल, चामल र तरकारीसमेत मेलम्चीबाट काठमाडौं आउने गरेको स्मरण अर्यालले गरे । जनजीविकाका सवालमा पनि काठमाडौं र मेचम्चीबीचको भगिनी सम्बन्ध थप प्रगाढ बनाउन सकिने तर्क उनको छ ।

 

अर्यालले जर्सिङपौवाको बाटो स्तरोन्नतिपछि मेलम्ची र काठमाडौंको दूरी अझ कम हुने भएकाले पर्यटकीय गन्तव्यका रूपमा पनि दुई नगरलाई जोड्न सकिने बताए । काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीले ५२ औँ कार्यपालिका बैठकको निर्णयअनुसार विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

 

मेलम्ची नगरकी उपप्रमुख भगवति नेपालले पाँचपोखरी, गुफाडाँडाजस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार पनि मेलम्ची नै भएकाले पर्यटनको प्रशस्त सम्भावना रहेको बताइन् । भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने उनको भनाइ छ । 

 

काठमाडौं महानगरले यसअघि नै चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ), अमेरिकाका ४ वटा (युजेन, रोचेस्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । 

 

त्यसैगरी काठमाडौं महानगरले जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यंगुन, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियोको पेङ्वाङ् र भारतको वाराणसी नगर महानगरसँग पनि भगिनी सम्बन्ध स्थापना गरिसकेको छ ।

 

थाइल्यान्डको बैंकक र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौं महानगरले भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाएको छ ।