close

शंखरापुरको आफ्नै गान, आफ्नै पाठ्यपुस्तक

शंखरापुरको आफ्नै गान, आफ्नै पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

काठमाडौं- शंखरापुर नगरपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक र नगरगान सार्वजनिक गरेको छ । कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषयको पाठ्यक्रम प्रकाशन गर्ने तयारीमा रहेको नगरपालिकाले कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक गरेको हो । 


स्थानीय सरकार आएको झन्डै चार वर्ष पुग्नै लाग्दा शंखरापुरले आफ्नै गान र स्थानीय पाठ्यपुस्तक सार्वजनिक गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनमै स्थानीय सरकारले नगर क्षेत्रभित्रलाई पहिचान गराउन आफ्नो पाठ्यपुस्तक निर्माण गर्न सक्ने व्यवस्था छ ।

 
शंखरापुर नगरप्रमुख सुवर्ण श्रेष्ठ र उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले संयुक्त रूपमा नगर गान र पाठ्यपुस्तक सार्वजनिक गरेका हुन् । नगरपालिकाभित्रका विद्यालय तथा नगरपालिकाका कार्यक्रममा राष्ट्रिय गानपछि गाउने गरी नगर गीत पाठ्यक्रमको अन्तिम पृष्ठमा राखिएको छ । 


पुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायत विषय समेटिएको छ । 

 

प्रमुख श्रेष्ठका अनुसार विद्यार्थीलाई आफ्नै ठाउँगाउँको चिनारी गराउने उद्देश्य स्थानीय पाठ्यक्रममा समेटिएको छ । 


उक्त गीत रामेश्वर श्रेष्ठ, विनोद मन्जन, गायत्री ढकाल दंगाल र बौधराज निरौलाले रचना गरेका हुन् भने वरिष्ठ संगीतकार प्रदीप बमजनको संगीत रहेको छ । 

 

गीत स्थानीय गायक वीरबहादुर तामाङ च्यांगवा, प्रदीप बमजन, टीका प्रसाईं र सुष्मिता आचार्यले गाएका हुन् । संगीत संयोजन विक्रम भण्डारीले गरेका छन् ।


नगरप्रमुख प्रमुख श्रेष्ठले पर्यटन र कृषिलाई समृद्धिको मुख्य आधारको रूपमा नगरपालिकाले अघि बढाएको बताउँदै स्थानीय पाठ्यपुस्तकको समेत आवश्यकता महसुस गरी प्रकाशन गरिएको बताए ।

 

‘कार्यभार सम्हालेपछि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिसँगै भौतिक पूर्वाधारमा नगरपालिकाले उल्लेख्य फड्को मारेको छ । नगरबासीको आयआर्जन वृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, नगरप्रमुख श्रेष्ठले भने । 


उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले शंखरापुरको सम्पत्तिको रूपमा रहेको कला, सांस्कृतिक चार्डपर्व र रमणीय पर्यटकीय स्थललाई अध्ययनको विषय बनाएर पाठ्यपुस्तकको रूपमा आउनु ठूलो उपलब्धि भएको दाबी गरिन् ।


नगरपालिकाका शिक्षा शाखा प्रमुख बौधराज निरौलाले लकडाउनका बीच पनि स्थानीय विज्ञ र पाठ्यपुस्तक विज्ञसँगको पटक-पटकको छलफलबाट पुस्तक तयार भएको बताए । 

 

कार्यक्रममा लेखक प्रकाशमान सक्व, रामेश्वर श्रेष्ठ, समालोचक विनोद मन्जन र वरिष्ठ संगीतकार एवं प्राध्यापक प्रदीप बमजनले पुस्तकबारे चर्चा गरेका थिए ।