close

ऐतिहासिक पर्यटकीय स्थलको डीपीआर बन्दै

ऐतिहासिक पर्यटकीय स्थलको डीपीआर बन्दै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको भूमे गाउँपालिकाले चालू आर्थिक वर्षमा ऐतिहासिक पर्यटकीय स्थलको विकास र विस्तारलाई पूर्णता दिन डीपीआर निर्माण गर्ने भएको छ । 


गाउँपालिकाभित्रका ऐतिहासिक पर्यटकीय स्थललाई विस्तार गर्न यो आर्थिक वर्ष गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने भएको हो । 


भूमे वडा नम्बर २ को जनजाति संग्रहालय काँक्री, वडा नम्बर ६ को युद्ध फिचर महत, वडा नम्बर ३ को जनवादी विद्यालय संग्रहालय क्याङ्सी, वडा नम्बर ९ को जनयुद्ध संग्रहालय भेरीडाँडा चुनबाङ गरी ४ स्थलको विकास गर्न लागि डीपीआर गरिने भएको हो ।


यो वर्ष दृश्यावलोकनका लागि उच्च स्थलको सम्भाव्यता अध्ययन पनि गरिने  गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए । 


‘त्यसका लागि ४ स्थानका महत्त्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक स्थल छुट्याएर डीपीआर गर्ने योजना छ’, अध्यक्ष बुढाले भने । संग्रहालय र युद्ध फिचर स्थलमा पूर्वाधार विस्तार गर्न सकिए पर्यटन गन्तव्य हुने र स्थानीयको आयस्रोत पनि बढ्ने उनको बुझाइ छ । 


ऐतिहासिक स्थलमा पूर्वाधार निर्माण गरी भूमेको चिनारीलाई देश–विदेशमा प्रचार गर्न सकिए पर्यटक आकर्षित हुने अध्यक्ष बूढाको दाबी छ ।


गाउँपालिका र संघीय सरकारको लगानीमा हाल आधारभूत विकासको आधार तयार भइसकेकाले उक्त ऐतिहासिक स्थलको विकास गर्न डीपीआरका लागि गाउँपालिकाले १५÷१५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


डीपीआरका लागि छिट्टै टेन्डर आह्वान गरिने र त्यसमा छानिएका कम्पनीमार्फत डीपीआरको काम अगाडि बढ्ने अध्यक्ष बुढाले जानकारी दिए । गाउँपालिकाले पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।