मुगु- जिल्ला निर्वाचन कार्यालय मुगुले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी थालेको छ । आगामी ७ र २९ वैशाखका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारीस्वरूप निर्वाचन कार्यालयले जिल्लाका ४ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जिल्ला निर्वाचन आयोग मुगुले बिहीबार आयोजना गरेको अन्तर्क्रियामा चुनावको तयारीस्वरूप छलफल, मतदाता नामावलीसम्बन्धी विभिन्न काम अघि बढाएको जानकारी दिएको हो ।
कार्यालयले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग निर्वाचनको तयारीबारी छलफल गरेको छ । आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७७ सम्बन्धी जानकारी पनि गराएको छ ।
निर्वाचन कार्यालय मुगुका निमित्त निर्वाचन अधिकारी धनकृष्ण बढुवालका अनुसार सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, प्रकाशन भएका नामावलीमा रहेका त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिनेलगायत विविध कार्यक्रम अघि बढाइएको हो ।
प्रकाशित नामावलीमा कुनै मतदाताको नाम १ भन्दा बढी स्थानमा समावेश भए १ स्थानमा मात्र कायम गर्न निर्देशन दिने, प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका व्यक्तिको वितरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने, उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिनेजस्ता कार्यतालिका सार्वजनिक गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल मुगुमा मतदाता संख्या ३१ हजार ८ सय ७१ रहेको छ । यसअघि २०७४ मा मुगुमा मतदाता संख्या ३० हजार १५ रहेको आयोगको तथ्यांकमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले कोरोनाका कारण जिल्ला मतदाता नामावलीका सबै काम रोकिए पनि अहिले पुनः सुरु गरिएको हो ।
उनले भने, ‘निर्वाचनको समय जनतालाई आर्थिक प्रभावमा पारेर मत संकलन गर्ने वा त्यसमा संलग्न राजनीतिक दलको उम्मेदवारी नै रद्ध गर्नुपर्ने, चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन गृहकार्य सुरु भइसकेको छ ।’
मतदाता नामावली खोज्न थाले राजनीतिक दल
पछिल्लो समय जिल्ला निर्वाचन कार्यालय मुगुमा मतदाता नामावली अद्यावधिक गर्नेको संख्या बढ्दै गएको छ । आयोगका निमित्त निर्वाचन अधिकारी बढुवालका अनुसार सरकारले निर्वाचनको मिति तोकेपछि यहाँका राजनितिक दलले नागरिकलाई अनिवार्य मतदाता नामावली भर्न ताकेता गरिरहेका छन् ।
‘पहिला आयोगमा कुनै पनि राजनीतिक दलका मान्छे आउँदैनथे । अहिले आयोगमा नागरिकको नाम लेखाउन राजनीतिक दलका कार्यकताहरू आउन थालेका छन्,’ बढुवालले भने ।