close

अब स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक 

अब स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सरकारले संघीय प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा निर्वाचनको तयारी थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले पालिका तहमा मतदाता नामावली अद्यावधिक गर्ने तयारी थालेको छ । 

 

जिल्ला निर्वाचन कार्यालय ओखलढुंगा निर्वाचनको तयारीमा जुटेको छ । सरकारले गत ५ पुसमा आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तोकेपछि त्यसको पूर्वतयारीस्वरूप जिल्लामा निर्वाचनको तयारी सुरु भएको हो ।

 

जिल्लास्थित निर्वाचन आयोगले ८ स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका कार्यक्रमलगायतका तयारीबारे जिल्लामा क्रियाशील पत्रकारलाई जानकारी गराएको छ ।

 
निर्वाचन आयोगले १६ पुस २०७७ देखि २१ फागुनसम्म निर्वाचनसम्बन्धी घोषणा गरेको कार्यक्रमअनुसार जिल्लाका ८ वटा स्थानीय तहमा १५ देखि २१ माघसम्म मतदाता नामावली अद्यावधिक हुनेछ ।

 

त्यस्तै, जिल्ला सदरमुकाममा १५ देखि २६ माघसम्म मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचनका लागि अद्यावधिक मतदाता नामावली तयार गरिने जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।


उनका अनुसार १६ र १७ माघमा २ दिन प्रत्येक स्थानीय तहको केद्रमा नामावली सच्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिनेछ । जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ ।

 

कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि हटाउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्य सम्पन्न गरी संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गरिनेछ । 


त्रुटि सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहारो विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराई सोको विवरण आयोगको वेबसाइटमार्फत प्रकाशन गर्ने जिल्ला निर्वाचन कार्यालयको तयारी छ ।  

 

केन्द्र थप र स्थानान्तरण गर्न सिफारिस

 

ओखलढुंगामा यसअघि कायम रहेका ७८ निर्वाचन स्थल तथा १ सय ४२ निर्वाचन केन्द्रमध्ये मतदातालाई अपायक पर्ने भएकाले ९ वटा केन्द्र सार्न केन्द्रमा सिफारिस गरिएको छ । 

 

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लाको खिजीदेम्बा र सुनकोसी गाउँपालिकामा मतदान स्थल थप गर्ने निर्णय गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ । यसअघि जिल्लामा कुल मतदाताको संख्या १ लाख २ हजार रहेकामा अहिले बढेर १ लाख ८ हजार पुगेको छ ।