close

नगरपालिका कार्यालयमा विद्यार्थीको तोडफोड

कापीकलम बोक्ने हातमा लाठीमुंग्री

नगरपालिका कार्यालयमा विद्यार्थीको तोडफोड

कापीकलम बोक्ने हातमा लाठीमुंग्री

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । बरहथवाको वडा नम्बर ५ स्थित चक्रजनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीको समूहले नगरपालिका कार्यालयमा तोडफोड गरेको हो ।

 

विद्यालयमा भौतिक सामग्री राम्रो नभएको, विद्यालयले समयमा किताब नदिएको, अतिरिक्त क्रियाकलाप नगराएको तथा नियमित पठनपाठनसमेत नभएको भन्दै विद्यार्थीहरू नगरपालिकाको कार्यालय तोडफोडमा उत्रिएका हुन् । 

 

आक्रोशित विद्यार्थीको भीडले नाराबाजी गर्दै नगरपालिका कार्यालयमा ढुंगामुढा गरेको नगरपालिकाले जनाएको छ ।विद्यार्थीको ढुंगामुढाबाट नगरपालिकाको हातामा रहेको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालका सिसालगायतमा क्षति पुगेको छ । 

 

ढुंगामुढाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेल चढ्ने बा२०च ९३३७ नम्बरको कारको सिसा फुटेको प्रहरीले बताएको छ । 

 

विद्यालयमा नियमित पठनपाठन गराउन, अतिरिक्त क्रियाकलापअन्तर्गत भ्रमण खर्च उपलब्ध गराउन र विद्यालयमा भौतिक संरचना व्यवस्थित गर्न आग्रह पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि तोडफोडमा उत्रिनुपरेको विद्यार्थीहरूको दाबी छ ।

 

पठनपाठन नियमित गराउन विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएको विद्यार्थीहरूको आरोप छ ।  विद्यार्थीले शैक्षिक भ्रमणका लागि १ लाख २० हजार रुपैयाँ माग गरेका थिए । तर, विद्यालय प्रशासनले भौतिक संरचना निर्माण गर्नुपर्ने भन्दै नदिने बताएको थियो । सोही विषयलाई लिएर प्रधानाध्यापक र विद्यार्थीबीच विवाद हुँदै आएको थियो । 

 

विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाए । विद्यार्थीको माग सम्बोधन गर्ने तयारी गर्दागर्दै केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थी परिचालन गरेका उनको दाबी छ । 

 

यसअघि सोही विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबीच छलफल भए पनि सहमति हुन नसकेको प्रधानाध्यापक रायले जानकारी दिए । माग सम्बोधन गर्नुको साटो उल्टै प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने धम्की दिँदै आएको विद्यार्थीहरू बताउँछन् ।

 

शैक्षिक सत्र सुरु भएको लामो समय बितिसके पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, पठनपाठन नियमित नभएको सोही विद्यालयमा कक्षा ११ मा अध्यनरत विवेक गुप्ताको आरोप छ । 

 

विद्यार्थीको समूह उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरी नै परिचालन गर्नु परेको थियो । घटनालगत्तै पुगेको प्रहरी टोलीले विद्यार्थीको समूहलाई सम्झाइ-बुझाइ गरेर विद्यालय पठाएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

 

तोडफोडका क्रममा घाइते १ विद्यार्थीको टाउको फुटेको र १ जनाको खुट्टा भाँचिएको छ । घाइते विद्यार्थीको बरहथवास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको परिवारले बताए ।