close

सीमा पुल खुलाउन भारतीय पक्षलाई पत्राचार

सीमा पुल खुलाउन भारतीय पक्षलाई पत्राचार

Trulli
ADVERTISEMENT

दार्चुला- भारतसँग जोडिएका दार्चुलासहित सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गर्ने नेपाल सरकारले निर्णय गरेको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका ४ वटासँगै देशभरका ३० वटा नाका खुलाउने सरकारले निर्णय गरेको हो ।

 

सुदूरपश्चिम दार्चुलाको खलंगा, बैतडी झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा सुचारु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर सीमानाका खुलाउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिसकेको छ ।


तर, नेपाल सरकारले गरेको निर्णयअनुसार भारतले भने पुल खुलाउने विषयमा निर्णयमा पुगेको छैन् । शुक्रबार बिहानैदेखि पुल खुल्ने आशमा खलंगा पुगेका स्थानीय भारतीय बजार जान पाएका छैनन् । 

 

पुल खुलाउने विषयमा भारत उत्तराखण्ड पिथौरागढका डीएम र धार्चुलाका एसडीएम कार्यालयलाई फोन तथा लिखित रूपमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

 

‘हामीले हाम्रो सरकारको निर्णयअनुसार पुल खुलाउने विषयमा जानकारी गराएका छौँ’, सिडियो पोखरेलले भने, ‘भारतले निर्णय गर्न बाँकी छ ।’ शुक्रबार १ घन्टाका लागि पुल खुलाइएको थियो भने शनिबार २ घन्टा पुला खुला गरिएको थियो ।


‘नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी सहज आउजाउ गर्ने अपेक्षा लिएका छन् । नेपाली पक्षबाट पहिलादेखि नाकामा आवतजावत खुकुलो गर्ने निर्णय भएकै थियो’, प्रजिअ पोखरेलले भने, ‘तर भारत विगतदेखि मानिरहेको छैन । जनताले दिनहुँ १-२ घन्टा पुल खुल्दा सास्ती मात्रै भोग्न बाध्य छन् ।’

 

सरकारको निर्णयबमोजिम नेपाली पक्षको तर्फबाट पुलघाट नाका खुला रहे पनि भारतीय पक्ष अझै तयार भइसकेको छैन । प्रजिअ पोखरेलका अनुसार यो विषयमा दुवै देशका स्थानीय प्रशासनबीच मौखिक छलफल तथा लिखित पत्राचार भएको छ ।


सरकारले पुल खुलाउने निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारले सीमा नाकामा स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ । सुरक्षाको मापदण्ड अपनाएर उनीहरूको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी नै खटाउन लागेको हो ।

 

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार दार्चुलाको सीमानाकामा स्वास्थ्य केन्द्र स्थापना छिट्टै स्थापना गरिनेछ । उनले भने, ‘हामीले केही दिनअघि मात्रै दार्चुला पुल घाटमा राख्न १ जना हेल्थ असिस्टेन्ट र १ जना ल्याब टेक्निसियनका लागि विज्ञापन आह्वान गरेका छाैँ ।’ 


उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्ना नेपालीभन्दा बढी भारतीय व्यवसायी बढी मारमा परेको हुँदा भारतले पुल खुलाउने विषयमा निर्णय गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले पनि विगतदेखि दुवैको सहमतिमा सर्वसाधारणलाई मर्का नपर्ने गरी पुल खुलाउन भनेका हौँ, तर अहिलेसम्म कार्यान्वयन भएन ।’


सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत ११ चैतदेखि नेपाल-भारत सीमा नाका बन्द गरेको थियो ।