close

जनताका नुन खाने बैगुनी वडाध्यक्ष

जनताका नुन खाने बैगुनी वडाध्यक्ष

Trulli
ADVERTISEMENT

मुगु– मुगुको उत्तरी सोरु गाउँपालिका वडा नम्बर १० का स्थानीयले आफ्नै वडामा ताला लगाएका छन् । वडाका स्थानीयले वडा कार्यालयमा नियमित वडाध्यक्षलगायत कर्मचारी नआउने र नागरिकको समस्यामा बेवास्ता गरेको बताउँदै १९ फागुनदेखि लगाएको ताला अझै नखुलेको हो ।

 

गत वर्ष वडा कार्यालयले च्याकल, ओखरलगायत ४ हजारका दरले प्रतिघरपरिवारलाई दिने बताएर नदिएको, वडामा मिल ल्याए पनि व्यवस्थित गर्न नसकेको, १६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको, वडामा नुन ल्याउन प्रतिघर १५ प्याकेटको १० रुपैयाँका दरले रकम असुली पनि नल्याएको भन्दै करिब ३ सय घरधुरीले गत १९ फागुनबाट वडा कार्यालयमा ताला लगाइदिएका थिए ।

 

अघिल्लो वर्ष यसै समय च्याकल, ओखर खेती प्रवद्र्धनका लागि २३ लाख रुपैयाँ बराबरको ओखरका बिरुवा गाउँलेले लगाए पनि १३ लाख रुपैयाँको बिरुवा मात्र खरिद गरिएको थियो । बाँकी १० लाख बिरुवा लगाएका प्रतिघरपरिवारलाई ४ हजार रुपैयाँका दरले दिने वडाको निर्णय भए पनि रकम नदिइएपछि वडा कार्यालय तालाबन्दी गर्नु परेको स्थानीय हरिकेश आर्चायले बताए ।

 

‘वडामा बेथिति भएको र नागरिकका समस्यालाई नजिकको सरकार वडा कार्यालयले सुनुवाइ नगरेपछि बाध्य भएर ताला लगाउनुपरेको हो’, आचार्यले भने । 


गाउँमा नुनको पनि हाहाकार छ । अघिल्लो वर्ष वडाले म्याद गुर्जिएको नुन गाउँमा पु¥याएको र त्यसको चौतर्फी विरोध भएपछि जिल्लाका सरोकारवालाको रोहबरमा नुन जलाइएको थियो ।

 

पछि नुन ल्याउन वडा कार्यालयले ढुवानीस्वरूप १५ रुपैयाँ सहयोग गर्ने र नागरिकले एक प्याकेटको १० रुपैयाँ दिनुपर्ने निर्णय गरेर रकम उठाए पनि नुन ल्याइएको छैन ।


नुन नहुँदा वडाबासीले सास्ती भोग्न बध्य छन् । वडाले मिलको व्यवस्था गरे पनि मिल सञ्चालनमा ल्याउन नसकेको र कोराना बेला राहत सामग्री ढुवानीलगायतको रकम नदिइएको अर्का स्थानीय लक्ष्मण मल्लले बताए । 

 

अहिले मिलको मेसिनका सामान गोठमा थन्किएका छन् भने अन्य सामान स्थानीयले शौचालय, लुगा सुकाउन प्रयोग गरिरहेका छन् । 

 

यस विषयमा बुझ्न खोज्दा सोरुगाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष धर्मराज जैशीका दुवै फोन स्विचअफ छन् । हाल उनी जिल्लाबाहिर रहेको बताइएको छ । 

 

गाउँपालिका अध्यक्ष लोकबहादुर शाही यो विषय गाउँपालिकामा नआएको बताउँछन् । नागरिकका समस्याबारे आफू जानकार रहे पनि अहिले जिल्लाबाहिर रहेको उनको भनाइ छ । 

 

‘सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया बैंकिङ प्रणालीबाट दिने प्रावधानअनुसार वितरणमा ढिलाइ भएको हो । यो समस्या वडा नम्बर १० को मात्रै नभएर गाउँपालिकाका सबै वडामा छ । सबै काम पूरा भएकाले जतिसक्दो सामाजिक सुरक्षा भत्ता वितरण गर्छौं’, अध्यक्ष शाहीले भने ।