तनहुँ– व्याँस नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, उपमेयर मिरा जोशी र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले चढ्दै आएको गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने नगरले जनाएको छ ।
गाउँबाट सदरमुकामस्थित अस्पतालसम्म बिरामी ओसार पसारमा कार्यमा सहज होस् भनेर यस्तो निर्णय गरिएको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।
मुलुकमा देखिएको अक्सिजन अभावका कारण कोरोना संक्रमितको मृत्यु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै मेयर न्यौपानेले यसलाई आत्मसाथ गर्दै धैर्यता, सचेतता र सतर्कताका साथ आत्मबल दह्रो बनाएर कोरोना जित्न आग्रह गरेका छन् । ‘जीवन बाँच्ने र बँचाउने अभियानमा नगरपालिका संवेदनशिल भएर लाग्नेछ’ मेयर न्यौपानेले भने ।
व्याँस नगरपालिकाले आफ्नै नयाँ एम्बुलेन्स खरिदका लागि १२ लाख ९५ हजारको सम्झौता गरिसकेको छ भने वडा नं ९, १० र १४ मा थप एम्बुलेन्स खरिदको प्रकृया अगाडि बढिरहेको छ । तर, हाल भने नगरसँग एक मात्र एम्बुलेन्स रहेकोले सेवा प्रदान गर्न कठिनाई नहोस् भनेर आफुहरुले चढ्दै आएको गाडी दिन लागिएको मेयर न्यौपानेले स्पष्ट पारे ।
हालसम्म जिल्लामा रहेका सकृय संक्रमितको संख्या २१७ रहेको र व्यास नगरपालिकामा मात्रै ५८ जना संक्रमित देखिएकोले गम्भीर भएर सर्तकता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।
सोमबार र बिहीबार गरी हप्ताको दुई दिन निःशुल्क पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको पनि नगरले जनाएको छ । कोरोनाको कुनै लक्षण देखिए व्यास नगरपालिकाको हटलाईन नम्बर ०६५–५६००३३ मा सम्पर्क गर्न सम्पूर्ण नगरवासीलाई अनुरोध गरेको छ ।