close

ओखलढुंगामा कोरोना कहर: चिशंखुगढी गाउँपालिका सिल

ओखलढुंगामा कोरोना कहर: चिशंखुगढी गाउँपालिका सिल

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था बन्द गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार ३ देखि ९ जेठसम्म नियमित सेवा बन्द हुनेछन् । 

 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले यस्तो आदेश दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कुशेखर अर्यालले जानकारी दिए । जिल्लाका चिशंखुगढी, मोलुङ र मानेभन्ज्याङ्  गाउँपालिका तथा सिद्धिचरण नगरपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । 

 

स्वाब दिएका व्यक्ति हिँडडुल गर्ने, काठमाडौंलगायत अन्यत्र रहेका आफन्त घर बोलाइँदा समुदायमै कोरोना संक्रमण देखिएको हो । स्थानीय तहमा भने कोभिड अस्पताल तथा आइसोलेसन तयार भएका छैनन् । पिसिआर परीक्षणका लागि पर्याप्त किट नहुँदा समुदाय स्तरमा परीक्षण हुन सकेको छैन ।

 

चिशंखुगढी गाउँपालिकाका ३ कमर्चारीसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय सिल गरिएको छ । त्यस्तै, गाउँपालिका कार्यालय रहेको वडा नम्बर ५ को साविक सेर्ना गाविसका वडा २, ३, ७ र ८ वडा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।


उनका अनुसार पालिकाका सेवा रोकिएका छन् भने थप कन्ट्याक्ट ट्रेसिङको काम हुनेछ । गाउँपालिकाका वडा नम्बर २ कार्यालयले पनि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको अध्यक्ष नरेन्द्र बस्नेतले बताए ।

 

समुदाय स्तरमै संक्रमण फैलिँदा पनि स्थानीय सरकार अलमलमै छन् । गत वर्ष निर्माण गरिएका आइसोलेसन र कोभिड अस्पताल अझै सञ्चालनमा आएका छैनन् । ओखलढुंगामा आइतबार मात्रै ३० जना संक्रमित फेला परेका थिए भने हालसम्म ७६ जना संक्रमित उपचाररत छन् ।