बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा बन्द गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा जेठ १७ गतेसम्म बन्द रहने पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले जानकारी दिइन । सङ्क्रमण पुष्टि भएका सबै अहिले होम आइसोलेशनमा रहेका छन् । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।
सबै होम आइसोलेशनमा रहेको र चाँडै न कोरोना जितेर जनताको सेवामा फर्किने गाउँपालिकाका अध्यक्ष कर्ण साउदले पालिका खबरलाई बताए ।
गाउँपालिकामा हालसम्म ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट बच्नका लागि अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।