close

चार दिनपछि अस्मिताको अन्त्येष्टि

चार दिनपछि अस्मिताको अन्त्येष्टि

Trulli
ADVERTISEMENT

डडेल्धुरा- गत शनिबार मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको ४ दिनपछि अन्त्येष्टि गरिएको छ ।


अस्मिताको मंगलबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको हो । धामीका परिवारलाई परशुराम नगरपालिकाले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका हुन् ।


कार्यपालिकाको आकस्मिक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णयपछि पीडित पक्षले शव बुझेको वडाध्यक्ष गोविन्द बोहराले बताए ।
 

धामीको शव जोगबुढा अस्पतालमा पोस्टमार्टम गरिएको थियो । तर, अस्पतालमा हत्या वा बलात्कार के भएको थियो भन्ने स्पष्ट रिपोर्ट नआएपछि नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको डडेल्धुरा प्रहरीले जनाएको छ । 

 

धामीको शव शनिबार हटवानी सामुदायिक वनमा फेला परेको थियो । २ असारमा आधारभूत स्वास्थ्य इकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन निस्केकी अस्मिताको शव वनमा फेला परेको हो ।

 

उनको शव मूल बाटोदेखि करिब ६०-७० मिटरको दूरीमा फेला परेको थियो । त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको थियो भने मोबाइल भेटिएको थिएन । प्रहरी स्रोतका अनुसार उनको मोबाइल फेला परेको छ ।

 

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको प्रहरी अधिकारीले बताए । घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको छ ।