close

फेदीखोलामा सुरु भो एक विद्यार्थी एक बिरुवा उपहार

फेदीखोलामा सुरु भो एक विद्यार्थी एक बिरुवा उपहार

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले पालिकालाई फलफूलका माध्यमबाट नमुना बनाउने योजनाअनुसार पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई फलफूलका बिरुवा उपहारस्वरूप दिएको हो ।


गाउँपालिकाले पालिकालाई फलफूलको माध्यमबाट नमुना बनाएर वातावरणीय सचेतना जागृत गर्ने उद्देश्यले सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १३९२ जना विद्यार्थीलाई कागतीका बिरुवा वितरण गरेको छ ।


वडा नम्बर २ स्थित कालाभैरव माविमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष घनश्याम सुवेदी र उपाध्यक्ष देवी थापाले संयुक्त रूपमा बिरुवा वितरण गरे । गाउँपालिका अध्यक्ष सुवेदीले वातावरणयि सचेतना जागृत गर्ने उद्देश्यले विद्यार्थीलाई बिरुवा वितरण गरिएको बताए ।


यो अभियानले विद्यार्थीमा अध्ययनका साथै श्रम गर्ने बानीको समेत विकास हुने अपेक्षा गरिएको उनको भनाइ छ । संघले बजेट भाषणमार्फत जिल्लालाई कागती जोनको रूपमा घोषणा गरिसकेको छ ।


यसैगरी गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने अभियानसमेत सुरु गरेको छ ।  बुधबार कालाभैरव माध्यमिक विद्यालय फेदीखोला वडा नम्बर १ मा अध्ययनरत विद्यार्थीलाई गाउँपालिका अध्यक्ष सुवदीले पाठ्पुस्तक हस्तान्तरण गरेर कार्यक्रम सुरु गरेका हुन् ।


कोरोनाका कारण पालिकाभित्रका विद्यालयमा अनलाइनका माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको र यसका लागि सबै विद्यालयमा पालिकाले नै इन्टरनेट व्यवस्था गरेको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले जानकारी दिए ।