close

स्याङ्जाका ५ स्थानीय तहको बजेटः कसको कस्तो ?

स्याङ्जाका ५ स्थानीय तहको बजेटः कसको कस्तो ?

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७६ करोड ६७ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले गत वर्ष ७२ करोड ९८ लाख ३७ हजार ७ सय ९० रुपैयाँको बजेट ल्याएको थियो ।


नगर उपप्रमुख देवीसरा थापाले नगरसभामा आगामी आर्थिक वर्षको आयव्यय प्रस्तुत गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालू खर्च १० करोड ६४ लाख ६० हजार अर्थात् ३०.१५ प्रतिशत र पुँजीगततर्फ २४ करोड ६७ लाख २ हजार रुपैयाँ अर्थात् ६९.८५ प्रतिशत विनियोजन गरिएको छ ।


नगरपालिकाले साधारण खर्चतर्फ १८ करोड ९९ लाख ८० हजार र विकासतर्फ ५७ करोड ६७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख थापाले बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको असार मसान्तसम्म चालू खर्चतर्फ ९० प्रतिशत र पुँजीगततर्फ ७० प्रतिशत खर्च हुने बताइन् । 


अन्डामा आत्मनिर्भर बन्ने कार्यक्रमका लागि ४२ लाख, बाख्रा विकास कार्यक्रममा ५० लाख, दूध उत्पादन कार्यक्रमका लागि ४२ लाख एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाई पकेट स्थापनाका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 


वडा नम्बर ८ मा कालिजपालनका लागि ५० लाख, पशु आहारा मिसन कार्यक्रमका लागि ४ लाख एवं कृत्रिम गर्भाधान मिसन कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरसभाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सर्वसम्म पारित भएको छ । 


यसअघि सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख भूपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गल्याङ नगर अस्पताललाई कोभिड उपचार केन्द्रको रूपमा रुपान्तरण गरी कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाइने बताए । 


आधारभूत स्वास्थ्य सेवामा नगरवासीको सहज पँहुच पुर्‍याउन गल्याङ नगर अस्पताल सुदृढीकरण तथा क्षमता विस्तार गरी विशेषज्ञ सेवासहित २५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने जानकारी दिए ।


गरिब, अपांगता भएका, असहाय, दीर्घ रोगी, गर्भवती महिला, नवजात शिशु तथा सुत्केरी आमाको स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।


सबै वडाका स्वास्थ्य संस्थामा सडक सञ्जालमा जोडिने र नगरपालिकामा एम्बुलेन्स सेवा विस्तार एवं व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । एक वडा एक कृषि स्रोत केन्द्र/पशु स्वास्थ्य केन्द्र निर्माण गर्ने नीति पनि अवलम्बन गरिएको छ ।


दूध बिक्रीमा दुग्ध संकलन केन्द्रको अभिलेख र पशु सेवा केन्द्रको सिफारिसमा प्रतिलिटर १५ रुपैयाँसम्म अनुदान दिने व्यवस्थालाई निरन्तरता दिँदै बाख्रापालन गर्ने वडामा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने भएको छ । 


नगरभित्रका ऐतिहासिक पर्यटकीय क्षेत्र रामनदिधाम तथा सेतिवेणी शालिग्राम शिलामा हेलिप्याड निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण अगाडि बढाउने नीति तथा कार्यक्रम नगरपालिकाले सार्वजनिक गरेको छ ।


पुतलीबजारको बजेट ८७ करोड २२ लाख

पुतलीबजार नगरपालिकाले नवौँ नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८७ करोड २२ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख महेश पुरीले नगरसभामा उक्त बजेट सार्वजनिक गरेका हुन् । 


चालू खर्चतर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्चतर्फ ३७ करोड ७९ लाख ५८ हजार रुपैयाँको बजेट रहेको उनले जानकारी दिए ।


प्रस्तुत बजेटमा नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रमलाई आवश्यकताअनुसार बजेट विनियोजन गरेको छ ।


त्यसैगरी सामाजिक विकास क्षेत्रतर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिबी निवारण कार्यक्रमका लागि बजेट छुट्याईएको छ ।


भौतिक पूर्वाधार विकास क्षेत्रतर्फ घर नक्सा पास, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजना गरिएको छ ।


सुन्तलाको सहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणीधाम, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो सहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत भएको छ ।


नगरसभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए भने सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रस्तुत गरे ।


त्यसैगरी लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड प्रतिवेदन प्रस्तुत गरेका थिए ।


बिरुवाको बजेट करिब ४३ करोड

स्याङ्जाको बिरुावा गाँउपालिकाको नवौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि समृद्ध बिरुवा सुखी बिरुवाबासी नारासहित ४२ करोड ९२ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


गाँउपालिकाका उपाध्यक्ष देवी थापाले सभामा पेस गरेको आयव्ययमा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा नमुना कृषि, युवा स्वरोजगारजस्ता कार्यक्रम समावेश गरिएको छ । 


त्यस्तै, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि गाँउपालिकाले १० लाख, कोरोना नियन्त्रणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले ‘समृद्ध बिरुवा सुखी बिरुवाबासी’ नारासहित ल्याइएको बजेटले नागरिकको जीवन स्तरमा सुधार ल्याउने अपेक्षा रहेको बताए । 


बजेटअन्तर्गत चालूतर्फ १४ करोड ९२ हजार ७२ लाख, पुँजीगततर्फ ६ करोड ९९ लाख ९६ हजार र ससर्ततर्फ २१ करोड रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिए ।


आँधीखोलाको बजेट ४५ करोड १६ लाख

आँधीखोला  गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले ४५ करोड १६ लाख १ हजार बराबरको बजेट गाउँसभामा पेस गरेकी छन् ।

 

भौतिक पूर्वाधारका कामहरू तीव्र गतिमा सञ्चालन भइरहेको स्याङ्जाको आँधीखोला गाउँपालिकाले पूर्वाधारको विकास मात्रै नभएर कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन को साथै रोजगार विहीन नागरिकहरूलाई लक्षित गरी रोजगार, कृषि र पर्यटनमा जोड दिँदैं बजेट सार्वजनिक गरेको छ ।


आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकासको बजेट मध्ये सबै वडा कार्यालय सम्म पुग्ने बाटो स्तरोन्नति एवम् पिच गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।

 

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

 

गाउँपालिकाको वडा न ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउन्नतीको लागि बहुवर्षिय कुल रु १० करोड मध्ये आगामी आर्थिक वर्षको लागि ४ करोड रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् । 

 

आगामी आर्थिक वर्ष वडा न २ को वडा कार्यालय भवन निर्माण गर्न ७५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै अत्याधुनिक सुविधा भएको सपिङ कम्प्लेक्स सहितको बहुउद्देश्यीय सभा हल सम्पन्नको अन्तिम चरणमा छ ।

 

पालिकाले चालूतर्फ ६ करोड ५० लाख, पुँजीगत खर्च तथा पूर्वाधार विकास, निर्माणतर्फ १७ करोड २ लाख  रुपैयाँ र ससर्त कार्यक्रमतर्फ २१ करोड ६४ लाख बजेट विनियोजन गरेको छ ।


हरेक वडामा कम्तीमा ३/३ वटा हावापानी सुहाउँदो बालीको पकेट क्षेत्र, भकारोमा गोबर तथा गहुँतलाई व्यवस्थित बनाई प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सजिलो बनाउने उद्देश्यले भकारो सुधार कार्यक्रम माटो परीक्षण तथा प्रविधि हस्तान्तरण कार्यक्रम बजेटमा समेटिएको छ ।

 

एक घर एक टनेल, कृषि तथा पशु बीमा सचेतना कार्यक्रम, पशु नस्ल सुधार, दूध तथा दुग्धजन्य वस्तुहरूको उत्पादन, बाख्रा तथा भैँसी प्रवर्द्धन कार्यक्रम, मौरीपालन तालिम तथा घार वितरण गरी मह तथा मैन उत्पादन, प्राङ्गारिक मल उत्पादन, शीत भण्डार निर्माण, कृषि एम्बुलेन्स, कृषक भ्रमण, पशु स्वास्थ्य सेवा तथा उपचार कार्यक्रम पनि प्राथमिकतामा छन् । 

 

फेदीखोलाको बजेट ३६ करोड ८९ लाख 

फेदीखोला गाउँपालिकाले ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालूतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । सुरुवाती आर्थिक वर्षबाट शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको पालिकाले शिक्षा क्षेत्रमा मात्र १२ करोड बढी बजेट विनियोजन गरेको छ ।


गाउँपालिका उपाध्यक्ष देवी थापाले प्रस्तुत गरेको बजेट अनुसार सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक विकासमा ३ करोड ८१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ८५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड ५५ लाख छ । 

 

विशेष गरि उत्पादन बजारिकरण लागि सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स देखि बाँझो जग्गा राख्ने परम्परालाई निरुत्साहन गर्न बाँझो जग्गामा खेति गर्नेलाई प्रोत्साहन गर्दै आएको पालिकाले उक्त कार्यक्रमहरुलाई निरन्तरता दिएको छ ।


बजेटले मकैको विउ उत्पादनमा गण्डकी प्रदेशमा नै पहिचान बनाएको पालिकाले कृषियोग्य माटो, खाद्यान्नमा विषादी तथा गुणस्तर परिक्षण गर्न कृषि ल्याव स्थापनको लक्ष्य राखेको छ ।

 

गाँउपालिकाको स्थानीय पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक हाम्रो फेदीखोला छपाईको तयारीमा छ । गाउँपालिकामा रहेका सबै विद्यालयका शिक्षक तथा कर्मचारीको न्युनतम पारिश्रामिक १५ हजार बनाउने नीति पालिकाको छ ।

 

कोभिड १९ महामारीमा व्यवस्थापनलाई चुस्त बनाई संक्रमणदर न्युन बनाएको पालिकाले संक्रमित भई अस्पतालमा उपचार गर्नुपर्ने अवस्था भएका विपन्न नागरिकलाई अधिकतम रु १५ हजार सहयोग गर्नेछ ।

 

त्यसैगरि पालिकाले १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ भने ७० बर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति सेवाका लागि अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने छ ।