close

कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना रोक्न गल्याङ नगरपालिकाको चेतावनी

कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना रोक्न गल्याङ नगरपालिकाको चेतावनी

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङजाको  गल्याङ नगरपालिकाले कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना रोक्ने चेतावनी दिएको छ ।  नगरप्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै मन्त्री विष्णु पौडेलले हतार हतार परियोजना उद्घाटन गरेको विषयमा गल्याङ नगरपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण भएको बताएका छन् । 

 

गल्याङ नगरपालिकाको वडा नम्बर १, २, ३, ११ र ९ भएर बगिरहेको कालीगण्डकी नदीको प्रभाव यस नगरपालिकाको सबै जसो क्षेत्रमा परिरहेको छ । 

 

‘गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको बीचबाट बगिरहेको कालीगण्डकी नदीको डाइभर्सनको विषयमा एकाएक कार्यालय उद्घाटन गर्नु संघीय शासन, प्रणालीको मूल्यमान्यता तथा भावना विपरित त छँदैछ, यस प्रक्रियाले अगाडि बढ्ने प्रयत्न गर्नु पनि अस्वभाविक कदमको रुपमा आएको छ,’ गल्याङ नगरपालिका प्रमुख अधिकारीको भन्छन् ।

 

जुनसुकै बहानामा यो आयोजना कार्यान्वयन भएमा यस क्षेत्रको पौराणिक, धार्मिक एवम् सांस्कृतिक धरोहर समाप्त हुने, मानवजातिको प्राचिन सभ्यताको अन्त्य हुने, समथर बस्तीहरु मरुभूमिमा रुपान्तरण हुने उनको दावी छ ।

 


गल्याङ नगरपालिकाका कयौं स्थानहरुमा जमिनमुनीको पानीको सदुपयोग गरी खानेपानी र सिंचाईको समेत उपयोग भएको र अझै यसलाई विस्तारित गर्ने क्रममा रहेकोमा यस खालको योजनाले उक्त कार्यलाई समेत बाधा पुग्ने र  हरियाली जंगलहरु समेत उजाड हुने समस्या आउने उनको दावी छ ।


डाइभर्सन आयोजनाले लुम्बिनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्म १० वटा स्थानीय तहको भौगोलिक क्षेत्रमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने भन्दै विरोध भएको हो ।

 

नगरप्रमुख अधिकारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘कालिगण्डकीको जलाधार क्षेत्रमा बसोबास गर्न साथै यस नगर भित्रका स्थानीयहरुले समेत सुख्खापन, कृषि उपजमा घाटा तथा विस्थापित नै हुनुपर्ने अवस्था नआउन सक्छ त्यसैले यो बदनियतपूर्ण ढंगले सुरु हुन लागेको परियोजना रोक्न तटिय क्षेत्रका जनप्रतिनिधि तथा आम नागरिकलाई संघर्षका लागि तयार रहन अपिल गरेको छ ।’