close

सुनवलमा १ घन्टामै रोपियो २० हजार बढी बिरुवा 

सुनवलमा १ घन्टामै रोपियो २० हजार बढी बिरुवा 

Trulli
ADVERTISEMENT

रूपन्देह- लुम्बिनी प्रदेश सरकारले सुनवलको कोटही देवी सामुदायिक वनमा १ घन्टामा २० हजार बढी बिरुवा रोपेको  छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्यअनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मूल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो । 

 

कोरोना महामारीका बीच प्रदेश सरकारले १५ सय बढीको सहभागितामा वृक्षारोपण गरिएकोे थियो । वृक्षारोपणमा आएका अधिकांश व्यक्तिले मास्क लगाएका थिए । नलगाएकालाई मास्क व्यवस्था गरिएको थियो । राष्ट्रिय वृक्षारोपण दिवस अवसर पारेर आयोजना गरिएको कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

 

बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा ५० प्रतिशत वन क्षेत्र रहेको बताइए पनि काठ पैदावार विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । ‘त्यो बाध्यता हटाउन हाम्रै वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी छ । त्यसका लागि प्रदेश सरकार लागिपरेको छ,’ पोखरेलले भने ।  

 

कार्यक्रमबारे जानकारी दिँदै उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले नेपालमै रेकर्ड कायम गर्ने गरी प्रदेश सरकारले ‘मूल समारोह कार्यक्रम’ तय गरेर वृक्षारोपण गरेको जानकारी दिइन् ।  सामुदायिक वनको २९ हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा वृक्षारोपण गरिएको हो । वृक्षारोपणका लागि १६ वटा स्टल निर्माण गरिएको थियो ।


डिभिजन वनकार्यालय नवलपरासीका डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताले लक्ष्यभन्दा बढी बिरुवा रोपिएको दाबी गरे । ‘१ घन्टामा २० हजार बिरुवा रोप्ने लक्ष्य थियो । तर, हामीले उक्त अवधिमा २० हजार ९ सय १७ वटा बिरुवा रोप्यौँ,’ गुप्ताले भने ।