close

बाढी पहिरोले तनहुँका अधिकांश ग्रामीण सडकमा अवरोध

बाढी पहिरोले तनहुँका अधिकांश ग्रामीण सडकमा अवरोध

Trulli
ADVERTISEMENT

तनहुँ- पछिल्लो साता लगातार परेको भीषण वर्षाले तनहुँमा वितण्डा मच्चायो । बाढी पहिरोले ठुलो धनजनको क्षति भयो । पृथ्वी राजमार्गको पहिरो तत्कालै हटाएर सडक सुरु भएपनि जिल्लाको अधिकांश ग्रामीण सडक अझै अवरुद्ध छन् ।

 

ठाउँ-ठाउँमा ट्रयाक नै नरहने गरी सडक भाँसिएको छ । सडक माथिबाट खसेका पहिरोले सडक वारपार गर्न सक्ने स्थिति छैन । पैदलयात्रीसमेत हिँड्न नमिल्ने गरी पहिरो झरेको छ । क्षतविक्षत भएर सडक अवरुद्ध हुँदा ग्रामीण बस्ती यातायात सञ्जालबाट बञ्चित बन्नु परेको छ ।

 

बाढी पहिरोले बन्दीपुर गाउँपालिकामा सबैजसो सडक अवरुद्ध भएको उपाध्यक्ष करुणा गुरुङ बताउँछिन् । उनका अनुसार यहाँका मुख्य डुम्रे-बन्दीपुर, बन्दीपुर-ढाँखोला, बन्दीपुर-धरमपानी लगायतका सबै सडक अवरुद्ध छन् । 


गाउँपालिकाले शुक्रबारदेखि पहिरो हटाउन सुरु गरेपछि  गाउँपालिकाको केन्द्र जाने डुम्रे-बन्दीपुर सडक भने एकतर्फी सञ्चालनमा ल्याउन सफल भएको उपाध्यक्ष गुरुङले बताइन् । ‘ठाउँ-ठाउँमा पहिरो खसेको थियो । हिजोबाट एकतर्फी हिँड्न मिल्ने गरी बाटो खुलाएका छौँ’, उनले भनिन्, ‘पूर्णरुपमा सुरु हुन अझै समय लाग्ला ।’

 

सडक अवरुद्ध हुँदा बन्दीपुरका ग्रामीण बस्तीका जनता बिरामी भए राजमार्गसम्म बोकेर ल्याउनुपर्ने अवस्था रहेको उपाध्यक्ष गुरुङ बताउँछिन् । ‘वडाका मुख्य सडकलाई खुलाउने काम भईरहको छ । सुत्केरी हुने महिला, बिरामीलाई असहज नहोस् भनेर कम्तीमा पनि एम्बुलेन्स चलाउन मिल्ने गरी सकड खुलाउन प्रयासमा छौँ’, उनी भन्छिन् । बन्दीपुरवासीले २२ वर्षपछि सबैभन्दा ठुलो बाढी पहिरोको सामना गर्नुपरेको उनको भनाइ छ । 

 

शुक्लागण्डकी नगरपालिकाले पनि अवरुद्ध सडक खुलाउन थालेको छ । शनिबार तनहुँ र स्याङजा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक खुलाएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । यो सडक खुलेपनि मान्द्रेदेखि छब्दी खण्डमा पहिरोको जोखिम कायमै रहेको उनले बताए । सडकको ट्रयाक नै नरहने गरी पहिरोले सडकलाई क्षतविक्षत बनाएको छ । 

 

नगरको केन्द्रलाई ग्रामीण बस्तीसँग जोड्ने दुलेगौँडा-हर्कपुर, लालध्वज, दुलेगौँडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मार्गमा पहिरोले क्षति पुर्याएको  छ । गाउँ-गाउँ जोड्ने सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । मुख्य सडक खुलाउने प्रयासमा रहेको नगरपालिकाले जनाएको छ ।

 

घिरिङ गाउँपालिकाले पनि पहिरो खुलाएर मुख्य-मुख्य सडक सुरु गरेको अध्यक्ष रनबहादुर रानाले बताए । ‘पहिरो खुलाउदै जान्छौँ । वर्षा निरन्तर भएकाले फेरी पहिरो खस्ने समस्या छ’, उनले भने । तत्काल अतिआवश्यक सडकको मात्र पहिरो हटाउने काम भइरहेको उनले बताए । 


जिल्लाका १० वटै पालिका बाढी पहिरोबाट प्रभावित छन् । सबै पालिकामा ग्रामीण सडक अवरुद्ध हुदाँ सर्वसाधरण मारमा परेका छन् । बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा दैनिक उपभोग्य बस्तुको ढुवानी हुन सकेको छैैन । किसानले उत्पादन गरेको कृषि उपज बजार पु¥याउनलाई सकस भएको छ ।