close

बाजुराको गुइवन बस्ती २३ वर्षदेखि पहिरोको उच्च जोखिममा

नेताले रोक्न पहल गर्छौं भने तर फर्केर गएनन्

बाजुराको गुइवन बस्ती २३ वर्षदेखि पहिरोको उच्च जोखिममा

नेताले रोक्न पहल गर्छौं भने तर फर्केर गएनन्

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गुइवनका १२० परिवार २३ वर्षदेखि पहिरोको त्रासमा बाँचिरहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा मात्र दर्जन बस्ती पहिरोको जोखिममा छन् । उच्च जोखिममध्यकै सर्वाधिक जोखिममा छ, गुइवन बस्ती हो ।
 

२०४८ बाट सामान्य चिरा परेको गुइवन गाउँमुनिको भीर भासिँदै गएपछि १२० परिवार पहिरोको उच्च जोखिममा रहँदै आएका हुन् । खप्तडको वडा नम्बर ४ गुइवनको गाउँ माथिबाट २०५६ देखि पहिरो झर्न थालेपछि बस्ती नै खतरामा परेको स्थानीय कृष्णबहादुर धामीले बताए । ‘२०५६ देखि निरन्तर यही पहिरोसँग लडिरहेका छौँ’, उनले भने, ‘वर्षाको समय कहिल्यै राम्रोसँग न खाना खान पाउँछौँ, रातदिन जाग्राम बस्ने गरेका छौँ ।’


स्थानीय रुपेश धामीका अनुसार २०५६ देखि पहिरोको चपेटामा परेका गुइवनका नागरिकले २०६३ मा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक कम्बल, एक सरो लुगा र एक सरो आल्मुनियमका भाँडाकुँडा सहयोग गरेको स्थानीय धामी सुनाउँछन् । ‘हरेक वर्ष वर्षायाम सुरु भएसँगै हामी कोही पनि घरमा बस्न सक्दैनौँ । गाउँमाथि र मुनितिरको पहिरोको त्रासले लेकतिरका जंगलमा गएर बस्ने गरेका छौँ,’ उनले भने ।


बस्ती जोखिम र खेतीयोग्य जमिन तहसनहस हुँदासम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले नागरिकको सुरक्षामा ध्यान नदिएको प्रेम धामीले दुःखेसो पोखे ।
‘मतदानको समय सबै नेता भोट माग्न आए । हाम्रो बासको अवस्था बतायौँ । मत दिएपछि अहिले कोही नेता पनि गाउँको समस्याबारे बोल्दैनन्’, स्थानीय भन्छन् ।
गाउँका नागरिकलाई सुरक्षित बासको व्यवस्थापन गर्नु त परै जाओस्, खुला अकासमुनि बस्ने परिवारले एउटा त्रिपालसमेत नपाएको बताए । २०४८ बाट सुरु भएको पहिरोको जोखिमले यहाँका नागरिक समस्यामा पर्दा कसैको ध्यान गएको छैन ।


गाउँपालिकाभित्र धेरै बस्ती पहिरोको जोखिममा परेको विषयमा जिल्ला प्रशासन कार्यालयमा रिपोर्ट पठाइएको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए ।


सरकारको एकीकृत बस्ती विस्तार कार्यक्रमअनुसार जोखिममा रहेका बस्तीलाई स्थानान्तण गर्ने प्रक्रिया अगाडि बढाएको अध्यक्ष रावतले जानकारी दिए । ‘सरकारी प्रक्रियामै ढिलाइ भएकाले एकीकृत बस्ती स्थानान्तरणमा ढिलाइ भएको हो । अब चाँडै बस्ती एकीकृत गर्छौं’, अध्यक्ष रावतले भने ।

 

गुइवनमा नाउली, पुरानापानी, मल्लागाउँ, चौताणीलगायत बस्ती छन् । ती सबै बस्ती पहिरोको उच्च जोखिममा छन् । साविकको ब्रह्मतोला गाविस हालको बूढीगंगा नगरपालिकामा पर्ने बजेडी, ब्रह्मतोला, सेरालगायत बस्तीसमेत जोखिममा परेका छन् ।


२०४८ मा जंगलमा आएको पहिरो २०५६ मा गाउँ नजिकै पुगेको हो । पहिरोले खेतबारी सबै बगाइसकेको छ भने गाउँ नजिकबाट बगेको पहिरो अहिले गुइगाडसम्म पुगिसकेको स्थानीयले बताए । स्थानीय रुपेश धामीले भने, ‘गाउँमाथिबाट आएको पहिरो बस्तीमै नजिक पुगिसकेको छ । गुइवनको पहिरोले सो क्षेत्रमा रहेका एक दर्जन बढी बस्ती जोखिममा छन् ।’