close

डोल्पामा सधैँ हवाई टिकटकै सास्ती

डोल्पामा सधैँ हवाई टिकटकै सास्ती

Trulli
ADVERTISEMENT

हुम्ला– फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुग्नुभएकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उहाँ नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन् ।

 

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पुर्‍याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्‍यो  । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे  । 

 

गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुपर्‍यो । डाँगीले भने, ‘चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।’

 

 बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरु राति जाग्राम बस्छन् ।  ‘उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन’, समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, ‘हामीसँग जम्मा १७  सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौँ ।’

 

शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठूलै युद्ध जितेझैँ हुने यात्रु बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगञ्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताए  । उनले भने, ‘सडकमार्ग राम्रो भएको भए सायद हवाईमार्गमा यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्थासमेत राम्रो छैन ।’

 

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगञ्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा ९ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा ५ हजार बढी भाडा तिर्नु पर्छ । जति महङ्गो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, ‘टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरुलाई नै पठाउनुपर्छ ।

 

डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक÷एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झण्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन ।

 

सडक स्तरोन्नतिको ढिलाइले हवाईमार्ग रोजाइ

 

जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि अझै पूरा भएको छैन । सडकखण्डको बीचमा रहेका झण्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । 

 

सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन । रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताउनुभयो । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन ।