close

निजी क्षेत्र विस्थापित हुने अवस्था आयो : पूर्वअध्यक्ष ढकाल

निजी क्षेत्र विस्थापित हुने अवस्था आयो : पूर्वअध्यक्ष ढकाल

Trulli
ADVERTISEMENT

दाङ– लुम्बिनी प्रदेशभरिका उद्योग वाणिज्य संघहरूको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठी दाङमा सञ्चालन भएको छ । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा जिआइजेटको सहयोग एवं दाङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको हो ।


कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेको बताए । ‘कोरोना महामारीका कारण लकडाउनले व्यवसायी विस्थापित भएका छन्’, ढकालले भने ।


कोभिडका कारण बाहिरबाट आउने कच्चा पदार्थको मूल्यवृद्धि तथा बैंक ब्याज वृद्धिलगायतका समस्याले निजी क्षेत्र समस्यामा परेको उनले बताए । निजी क्षेत्रलाई आफ्नो क्षेत्रमा भएका स्रोत–साधन उपयोग गरेर अगाडि बढ्नसमेत उनले आग्रह गरे । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।


देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक विकासका लागि नीतिगत सुधार हुन आवश्यक रहेको बताए । ‘धेरै ऐन कानुन संशोधन हुन आवश्यक छ’, उनले भने, ‘निजी क्षेत्रलाई अगाडि बढाउन र आर्थिक विकास गर्न करिब १ सय वटा जति ऐन, कानुन संशोधन हुनुपर्छ ।’ 


उद्योग वाणिज्य महासंघले व्यवसायीलाई सचेतना तथा क्षमता अभिवृद्धिका लागि छुट्टै पाठ्यक्रम निर्माण गरेर तालिम दिने योजना रहेको उनले बताए । बजारमा अनुगमन गर्ने जाने निकायलाई समेत तालिम आवश्यक रहेको उनको भनाइ छ । 


महासंघका सदस्य तथा स्वास्थ्य सीप विकास समितिका हेमराज ढकालले देशमा आर्थिक मन्दीको संकेत आउन थालेको दाबी गरे । ‘आर्थिक क्षेत्रमा समस्या देखिन थालिसकेको छ’, उनले भने । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशभर रहेका उद्योग वाणिज्य संघको संस्थागत विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको गोष्ठी आयोजना गरिएको जानकारी दिए । 


दाङ उद्योग वाणिज्य संघ अध्यक्ष टंकसिंह बुढाथोकीले धन्यवाद व्यक्त गरेको कार्यक्रममा ज्ञापन गरेको कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले गरेका थिए । गोष्ठीमा प्रदेशभरका उद्योग बाणिज्य संघका अध्यक्ष तथा अन्य पदाधिकारीको सहभागिता छ ।