close

स्थानीयको सहभागिताबिना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

स्थानीयको सहभागिताबिना विकास निर्माण असम्भव : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिताबिना विकास निर्माण हुन नसक्ने बताएका छन् । रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफीकोट र आठबिसकोटमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीयको सहयोगको आवश्यकता औँल्याएका हुन् । ‘आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदानबिना सरकारले मात्र विकास गर्न सक्दैन,’ मन्त्री शर्माले भने, ‘विकासका लागि स्थानीय सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।’ 


कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेकोप्रति मन्त्री शर्माले असन्तुष्टि व्यक्त गरे । उद्योग वाणिज्य संघ चौरजहारीका प्रतिनिधिसँग भने, ‘कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ । अनि कसरी गर्ने विकास ?’ चौरजहारीमा विमानस्थलको स्तरोन्नति र भेरी नदीमा जलविद्युत् बनाउने योजना रहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव नहुने बताए । 


मन्त्री शर्माकै पहलमा चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरे भने सानीभेरी गाउँपालिकामा सुविधासम्पन्न अस्पताल भवनको शिलान्यास गरे । यस्तै, उनले आठबिसकोटमा स्थापना गरिएको १५ शय्याको नगर अस्पताल भवन उद्घाटन गरे । नेकपा माओवादी केन्द्रको बाफिकोट र आठबिसकोट दोस्रो नगर सम्मेलन अवसरमा पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुखसमेत रहेका मन्त्री शर्माले रुकुमलाई समाजवादको आधार बनाउने प्रतिबद्धता दोहो¥याए ।


अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी मुक्त जिल्लाको रूपमा विकास गरेर समाजवादको आधार तयार पार्ने योजना रहेको उनले जानकारी दिए । ‘अबको पाँच–सात वर्षभित्र रुकुममा कोही पनि गरिब र बेरोजगार भेटिने छैन । यसबाट जिल्लामा समाजवादको आधार तयार हुनेछ,’ उनले भने, ‘विकास निर्माणको काम पनि गुणस्तरीय विकासको अवधारणामा अघि बढाइनेछ ।’ 


शिक्षामा प्रतिस्पर्धी र स्वरोजगार जनशक्तिको उत्पादन, स्वास्थ्यमा उपचारका लागि सकेसम्म जिल्ला बाहिर जानु नपर्ने अवस्था सिर्जना, सबै नागरिकलाई रोजगारयुक्त बनाउने, आर्थिक उत्पादनमा आत्मनिर्भरतालगायत कार्य गुणस्तरीय विकासका सूचक भएको मन्त्री शर्माले उल्लेख गरे । गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयलाई उद्यमशील बनाउने नीतिस्वरुप पढ्दै, कमाउँदै कार्यक्रम ल्याएको बताए । ‘विद्यालयले विद्यार्थीलाई किताब घोकाउने मात्र होइन, पढेको कुरा व्यवहारमा लागू गर्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ । कम्तीमा १२ कक्षा उत्तीर्ण विद्यार्थीले स्वरोजगार हुने सीप सिकेर निस्केको हुनुपर्छ ।’


पढ्दै, कमाउदै कार्यक्रम चालू शैक्षिक सत्रबाटै लागू हुने उनले जानकारी दिए । यस्तै, आगामी शैक्षिक सत्रदेखि देशका विभिन्न स्थानमा डिजिटल लर्निङ सेन्टर स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो, भिडियोसहित अध्ययन अध्यापन गराउने तयारी रहेको मन्त्री शर्माले बताए । सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका ५ लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीलाई मासिक ५ हजार रुपैयाँका दरले उपचार खर्च दिने निर्णय भएको, घाइते, अपांगता भएकालाई उपचार खर्च दिन लागिएको, सहिद परिवारलाई मासिक ३ हजारका दरले जीवनवृत्ति प्रदान गर्ने निर्णय भएको, दलित आवास, महिला पहिलाजस्ता जनपक्षीय कार्यक्रम ल्याएकाले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।