close

विकट बस्तीमा मोबाइल सेवाको पहुँच पुर्‍याउँदै टेलिकम 

विकट बस्तीमा मोबाइल सेवाको पहुँच पुर्‍याउँदै टेलिकम 

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारी स्वामित्वको नेपाल टेलिकमले मुलुकका दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउँने प्रयास हुँदै आएको बताएको छ । यसका लागि कम्पनीले सडक सुविधा भएका स्थानमा सडकबाट र नभएका ठाउँमा हेलिकोप्टरबाटै निर्माण उपकरण सामग्री लगेर विकटका नागरिकलाई मोबाइल सुविधा दिन थालिएको टेलिकमले जानकारी दिएको हो । 


दूरसञ्चारका ठूला र गह्रौँ उपकरण कम्पनीले हेलिकोप्टरबाट ढुवानी गर्दै आएको छ । कम्पनीले यो आर्थिक वर्षमा अति दुर्गम र विकट ८ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । 


सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु प्वाइन्ट हेलिकोप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो ।


यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौँरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायत क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको टेलिकमले बताएको छ ।


स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का बस्ती र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगाया क्षेत्रमा सेवा उपलब्ध भएको छ । टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्गलगायत क्षेत्रमा सेवा उपलब्ध भएको कम्पनीले बताएको छ । 


टेलिकमका अनुसार गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा सेवा उपलब्ध भएको छ ।


गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायत क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

 

मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिकाअन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायत क्षेत्रमा सेवा उपलब्ध भएको कम्पनीले बताएको छ । अन्य तीन दुर्गम र विकट स्थानमा हेलिकोप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको टेलिकमले जानकारी दिएको छ ।


सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ, नाचिपाङ र दार्चुलाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गर्ने तयारी छ । हाल यी स्थानमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने टेलिकमको भनाइ छ । सेवा सञ्चालनमा आएपछि यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् ।