close

जुम्लामा १४८ गणकबाट गरिँदै जनगणना 

जुम्लामा १४८ गणकबाट गरिँदै जनगणना 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा राष्ट्रिय जनगणनाका लागि १४८ गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि १४८ गणक खटाउने भएको हो ।

 

जनगणना कार्यालय जुम्लाका कार्यालय प्रमुख शंकर भट्टले आउँदो २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।

 

गणकका लागि चारदिने तालिमसमेत कार्यालयले दिएको छ । यहाँका ८ वटै स्थानीय तहमा खटिने गणकका लागि तीन ठाउँमा तालिम सञ्चालन गरिसकिएको जिल्ला जनगणना कार्यालयका प्रमुख भट्टले बताए ।

 

पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको खलंगा बजारमा तालिम सञ्चालन गरिएको थियो भने तातोपानी र तिला गाउँपालिकाको कुडारी बजार तालिम दिइएको हो ।

 

हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाको सिंजा नराकोट बजारमा तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख भट्टले बताए । तालिममा १४८ गणक र १३ जना सुपरीवेक्षकको सहभागिता थियो । 

 

तालिममा गणकलाई घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाबारे सिकाइएको छ । सुपरीवेक्षकले गत ३० भदौदेखि १८ असोजसम्म घरपरिवार सूचीकरण गरिसकेका छन् ।


सोही आधारमा अब गणकले २५ कात्तिकदेखि ९ मंसिरसम्म मूल गणना गर्नेछन् । गणकमार्फत प्रत्येकका घर पुग्ने गणकले घरपरिवारमा प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण संकलन गर्नेछन् ।

 

कार्यालयका अनुसार दोस्रो चरणको गणनाअन्तर्गत सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिने जनगणना कार्यालय जुम्लाले जनाएको छ । 


कार्यालयका अनुुुसार तिलामा २१ गणक परिचालन गरिनेछ भने हिमामा १२, तातोपानीमा १८, सिंजामा १४, कनकासुन्दरीमा १८, चन्दननाथ नगरपालिकामा ३३, गुठीचौरमा १२ र पातारासी गाउँपालिकामा २० जना गरी १४८ गणक खटिनेछन् । 

 

२४ हजार बढी घरपरिवार सूचीकृत 

जिल्लामा २४ हजार ८ सय घरपरिवार सूचीकृत भएका छन् । जनगणनाको पहिलो चरणअन्तर्गत गत ३० भदौदेखि १८ असोजसम्म गरिएको गणनामा जिल्लाका २४ हजार ८ सय घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरणअन्तर्गत ४१ सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना कार्यालय जुम्लाका कार्यालय प्रमुख भट्टले बताए ।