close

दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १९ घाइते

दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १९ घाइते

Trulli
ADVERTISEMENT

दाङ–सल्यानको कालीमाटीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको छ । भे१ज ५२२ नम्बरको यात्रुवाहक जिप सोमबार बिहान सल्यान र दाङको सिमानास्थित एक्लेवर नजिक दुर्घटनाग्रस्त भएको हो ।


जिप दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

 

गम्भीर घाइते दंगीशरण गाउँपालिका वडा नम्बर २ की ३० वर्षीया पार्वती वलीलाई दिउँसो तुलसीपुरबाट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।


त्यस्तै, ९ घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


जिप चालक फरार रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नम्बर ३ चौरी बल्लेका ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालले बताए । मृतक सुनार गाडी मालिक हुन् । 

 

अर्यालका अनुसार घाइते हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर २ की ३० वर्षीया पार्वती वली, सल्यान कालीमाटी वडा नम्बर ३ सिमलकुनाकी २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका वडा नम्बर २ बगालेकी २३ वर्षीया पवित्रा ओली, उनका छोरा ३ वर्षीय दिनेश ओली, कालीमाटी वडा नम्बर ३ कालाखोलाका अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँकी ५६ वर्षीया प्रमिसा खत्री, बबई वडा नम्बर २ की ३२ वर्षीया कमला बस्नेत रहेका छन् । 


त्यस्तै, घाइते हुनेमा तुलसीपुर उपमहानगर वडा नम्बर १५ का १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी वडा नम्बर ९ की ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी वडा नम्बर ३ की १७ वर्षीया सपना ओली, शान्तिनगर वडा नम्बर ४ का ५५ वर्षीय खली ओली, बाँके कोहलपुर नगरपालिका वडा नम्बर ४ की ३२ वर्षीया दीपा ओली, उनकी छोरी १५ वर्षीया संगीता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बाँसगढी मोतिपुरकी २८ वर्षीया सुशीला राणा रहेका छन् ।

 

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरीकी ६० वर्षीया बिम्पा खत्री, तुलसीपुुुर उपमहानगर वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया शोभा बुढाथोकी र उनका छोरा ७ वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् । तीव्र गतिका कारण जिप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।