close

यातायात व्यवसायीले २० वर्षपछि न्याय पाउँदा...

कब्जामा लिएका बसको क्षतिपूर्ति रकम १ करोड बढी दिन सेनालाई आदेश

यातायात व्यवसायीले २० वर्षपछि न्याय पाउँदा...

कब्जामा लिएका बसको क्षतिपूर्ति रकम १ करोड बढी दिन सेनालाई आदेश

Trulli
ADVERTISEMENT

दाङ– दाङका एक यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन् । तत्कालीन राप्ती बस सार्वजनिक व्यवसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका संरक्षक रहेका घोराही उपमहानगर वडा नम्बर ४ का भरतनाथ योगीका बस तत्कालीन शाही नेपाली सेनाले द्वन्द्व कालमा कब्जामा लिएको थियो ।


सेनाको बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग हुँदै आएका ना२ख २४४३, ना२ख ५३८३, रा१ख २८१ नम्बरका तीन वटा बस र बा३च ७५६१ नम्बरको बोलेरो जिप दुई वर्ष नियन्त्रणमा लिएर आफैं चलाएको थियो ।

 

तत्कालीन माओवादीले ८ मंसिर २०५८ मा घोराहीस्थित शाही नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण गरेको थियो । आक्रमणपछि माओवादीले नेपाली सेनाका हातहतियार, बन्दोबस्तीका सामान र घाइतेलाई ओसार्न योगीका दुई बस प्रयोग गरेको थियो । 


माओवादीलाई सघाएको आरोपमा सेनाले योगीका बस नियन्त्रणमा लिएको थियो । सेनाले योगीका बस दुई वर्ष बढी समयसम्म नियन्त्रणमा लिएर प्रयोग गरे पनि कुनै क्षतिपूर्ति दिएको थिएन । 

 

सेनाले आफ्नो सम्पत्ति कब्जामा राखे पनि क्षतिपूर्ति नदिएको भन्दै योगीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । मुद्दामाथि फैसला गर्दै सर्वाेच्चले योगीलाई क्षतिपूर्तिबापत १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो ।


सर्वोच्चको फैसलापछि ढिलै भए पनि न्याय पाएको अनुभूति भएको योगीले प्रतिक्रिया दिए । ‘देशमा न्याय मरेको छैन भन्ने लागेको छ’, उनले भने, ‘ढिलै भए पनि मैले न्याय पाउँछु भन्ने आशा थियो ।’

 

यसअघि धेरै पटक क्षतिपूर्तिका लागि सरकार र सेनासँग अनुरोध गरे पनि सुनुवाइ नभएको उनले बताए ।  माओवादीसँग पनि क्षतिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेका थिए । योगीको पक्षबाट अधिवक्ता भीमार्जुन आचार्यले बहस गरेका थिए । 

 

योगीका बस सेनाकै सवारी साधनजस्तै देखिने गरी पेन्टिङ गरिएका थिए । ती बस रोल्पा क्षेत्रमा सञ्चालन हुँदै आएका थिए । सेनाले ८ मंसिर २०५८ मा नियन्त्रणमा लिएका ती बस १० भदौ २०६० सम्म सञ्चालन गरेको थियो । पछि ती बस सेनाले योगीलाई नै बुझाएको थियो ।