close

पहिरोपीडितलाई बाँडियो राहत 

पहिरोपीडितलाई बाँडियो राहत 

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मुक्तेन र मझियाका पहिरोपीडित २६ घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रस्टले खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । साँगुुरीगढी गाउँपालिका वडा नम्बर ६ कार्यालयको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रस्ट नेपालको उत्थानशील खानेपानी, सरसफाइ, स्वच्छता तथा आपतकालीन पूर्वतयारी कार्यक्रमअन्तर्गत मुक्तेन र मझियाका २६ घरपरिवारलाई राहत वितरण गरिएको हो । 


साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष यमप्रकाशको रोहबरमा गोर्खा वेल्फेयर ट्रष्ट धरानले स्थलगत रूपमै दाल, चामल, तेल, ग्यास चुल्हो, साबुनलगायत १९ प्रकारका दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री पहिरोपीडित परिवारलाई वितरण थियो । मझुवा र मुक्तेन गाउँमा केही वर्षदेखि लगातार पहिरो जाँदा २६ मध्ये ११ घरपरिवार विस्थापित भइसकेको वडाध्यक्ष मगरले बताए । उनीहरू नजिकै रहेको आफन्तको जग्गामा अस्थायी टहरा निर्माण गरी बसिरहेको उनले जानकारी दिए ।


कात्तिक पहिलो साता निरन्तर परेको वर्षाले सो क्षेत्रका अन्य बस्तीसमेत जोखिममा छन् । सो क्षेत्रको पहिरोले भेडेटार–रवि–राँके सडकलाई समेत जोखिम बनाएको छ । साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ मझुवाका टीकाराम घागा मगरको घरसहित १० रोपनी बारी पहिरोले बगाइदिएपछि अहिले उनी ससुरालीको जग्गामा अस्थायी टहरा बनाएर बसेका छन् । ‘घरबारविहीन हामीलाई गोर्खा वेल्फेयरले खाद्यान्नसहितको दैनिक उपभोग्य सामाग्री दिँदा खुसी लागेको छ । कमाइ गर्ने जग्गा पहिरोले बगायो । अहिले विचल्लीमा छौँ,’ उनले भने, ‘पहिरो गएको घरजग्गा हेर्दा मन थामिँदैन ।’


सरकारले स्थायी रूपमा हुने गरी स्थानान्तरणको व्यवस्था मिलाउन पहल गरिदिनुपर्ने उनको माग छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपाल धरानका एकाउन्टेन सुरेन्द्र मादेनले पहिरोले घरबारविहीन बनेका यहाँका घरपरिवारलाई केही राहत होओस् भन्ने उद्देश्यले सहयोग गरेको बताए ।