close

नगरकोटबासीले रोके सडकमन्त्रीको गाडी !

नगरकोटबासीले रोके सडकमन्त्रीको गाडी !

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरस्थित नगरकोटका स्थानीयले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको गाडीलाई बीच सडकमै रोकेका छन् । कमलविनायक–नगरकोट सडक ८ वर्ष पहिले नै बन्नुपर्ने सम्झौता भए पनि निर्माण सम्पन्न हुन सकेको छैन ।


लामो समयदेखि अलपत्र बनेको सडकबाट दैनिक सास्ती बेहोरिरहेका स्थानीयले आइतबार दिउँसो मन्त्री यादवको टोलीलाई नगरकोट सडक खण्डअन्तर्गत तेलकोटमा रोकेका हुन् । मन्त्री यादव सडक निरीक्षणपछि फर्कंदै गरेको थाहा पाएपछि स्थानीय भेला भएका थिए ।

 

कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका राजकुमार लामिछानेले मन्त्रीको ध्यानाकर्षणका लागि गाडी रोकिएको बताए । मन्त्रीको टोलीले स्थानीयको कुरा नसुनी भाग्न खोजेपछि सडकमा मन्त्रीको गाडी नै छेकेर बसेको लामिछानेको भनाइ छ ।


८ वर्षमा पनि सडक नबन्दा स्थानीयलाई सास्ती भएको र दैनिक हिलो र धुलो खानुपर्ने अवस्था रहेकाले छिट्टो गरिदिन मन्त्रीसमक्ष आग्रह गरिएको उनले जानकारी दिए ।


‘पहिलाजस्तै अहिले पनि आश्वासन दिने काम नगरियोस्’, उनले भने, ‘ठेकेदारले सडक निर्माणका क्रममा लापरबाही गरेको छ । कि ठेकेदारलाई कारबाही गर्नुपर्‍यो कि त सडक निर्माण गर्नुपर्ने हाम्रो माग हो ।’

 

मन्त्री यादवले पटक–पटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सडकको अवलोकनका लागि नगरकोट आएको र फर्किएपछि ठेकेदारलाई ताकेता गर्ने निर्देशन दिने प्रतिबद्धता जनाइन् ।