close

उदयपुरका ग्रामीण क्षेत्रमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

उदयपुरका ग्रामीण क्षेत्रमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरका ग्रामीण क्षेत्रमा बजार अनुगमन नगरिँदा उपभोक्ताले म्याद नाघेका दैनिक उपभोग्य वस्तु प्रयोग गर्न बाध्य भएका छन् । मेलापर्वमा बजार अनुगमन सहर र सदरमुकाम केन्द्रित हुँदा ग्रामीण क्षेत्रका नागरिकले महँगो मूल्य र गुणस्तरहीन सामग्री उपभोग गर्नुपर्ने अवस्था रहेको हो ।

 

ग्रामीण क्षेत्रमा सडक विस्तारसँगै मानव स्वास्थ्यमा असर गर्ने उपभोग्य वस्तुको बिक्री हुने गरेको छ । सहर र सदरमुकाममा उपभोक्ता सचेत भएकाले व्यापारीले खान अयोग्य चाउचाउ, बिस्कुट, पेय पदार्थ र म्याद गुज्रिएका औषधी बिक्री ग्रामीण क्षेत्रमा गर्न थालेका छन् ।

 

दसैँअगावै सदरमुकाम गाईघाट, बेल्टार र कटारीमा मात्रै बजार अनुगमन गरिएको थियो । तर, अनुगमन गरिरहेकै बजारमा थोक बिक्रेताले म्याद गुज्रिएका, प्रयोग गर्न नमिल्ने दैनिक उपभोग्य वस्तु ग्रामीण क्षेत्रका बजारमा पठाउने गरेका छन् ।

 

मुख्य बजारका अधिकृत बिक्रेताले ग्रामीण बजारमा खाद्यान्न, कपडा, पेय पदार्थलगायत वस्तु पठाउने गरेका छन् । अधिकृत बिक्रेताकहाँ आइपुग्दै म्याद सकिने र उपभोग्य मिति कम भएका वस्तु ग्रामीण बजारमा पठाउने गरिएको छ ।

 

गाउँघरका व्यापारीले महिनौँदेखि दसैँ–तिहारलाई लक्षित गरी अत्यावश्यक वस्तुको जोहो गर्छन् । लामो समयसम्म राख्दा ती वस्तुको म्याद सकिएको हुन्छ । गाउँघरमा अनुगमन गर्ने निकाय नहुँदा उपभोक्ताले मनलाग्दी मूल्य तिर्नुपर्ने र म्याद गुज्रिएका सामग्री उपभोग गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

 

बजार अनुगमन गर्ने जिम्मा स्थानीय प्रशासन र स्थानीय तहलाई दिइएको छ । तर, स्थानीय तहले बजार अनुगमन नगर्दा यस्तो समस्या आएको उपभोक्ताको गुनासो छ । स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य भएको रौतामाईका भरत दाहाल बताउँछन् ।