close

शिवराजका नगरप्रमुखले गरे भ्रष्टाचार नगर्ने र हुन नदिने कागजमा हस्ताक्षर

शिवराजका नगरप्रमुखले गरे भ्रष्टाचार नगर्ने र हुन नदिने कागजमा हस्ताक्षर

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा–अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीसहितका प्रतिनिधिले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्नै नदिने प्रतिबद्धतासहितको हस्ताक्षर गरेका छन् ।


किडार्क नेपाल कपिलवस्तुको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । कार्यक्रममा उपस्थित सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरे । नगरप्रमुख अधिकारीले जनचेतना अभावले धेरै सरकारी निकायमा भ्रष्टाचार हुने गरेको बताए । सरकारी कार्यालयमा अझै पनि पैसा नदिँदासम्म काम भरपर्दो हुँदैन भन्ने विश्वास रहेकाले समस्या निम्तिएको उनको भनाइ छ ।


पैसा लिने र दिने दुवै अपराधी भएकाले कुनै सरकारी कर्मचारीले अनावश्यक रूपमा पैसा मागे तथा सामाजिक काममा व्यक्तिगत स्वार्थ पूरा गर्न खोजे कानुनअनुसार कारबाहीको भागिदार बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जगत जिसीले भ्रष्टाचार नियन्त्रण गर्न सबै जागरुक हुनुपर्ने बताए । नयाँ पिँढीका युवा सक्रिय भएर भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने उनको सुझाव छ ।

 


निर्वाचित भएपछि वडामा अनावश्यक रकम लिने तथा व्यक्तिगत स्वार्थ पूरा गर्न नागरिकलाई सास्ती दिने कुनै क्रियाकलाप नगरेको दाबी उनको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत भीमलाल विकले नेपालमा पछिल्लो समय भ्रष्टाचारको अवस्था, कानुनी व्यवस्था र न्यूनीकरण गर्न नागरिकको भूमिकाबारे प्रकाश पारे ।


किडार्क नेपालका संयोजक कृष्ण रावलको अध्यक्षतामा भएको कार्यक्रममा शिवराज नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, वडाध्यक्षहरू, बाल सञ्जालका किशोर÷किशोरीको सहभागिता थियो ।