close

मापदण्डविपरीतका ट्रस हटाउँदै ललितपुर महानगर

मापदण्डविपरीतका ट्रस हटाउँदै ललितपुर महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं–ललितपुर महानगरले महानगरको मापदण्डविपरीत घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) हटाउन थालेको छ । बुधबारबाट ३ दिने समय दिएर फुटपाथ ढाक्ने गरी राखिएका पाली हटाउन निर्देशन दिइएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

नगर प्रहरीले बुधबार कुपन्डोलदेखि पुल्चोक दमकल मोडसम्मका १३८ वटा पसललाई ३ दिनभित्र ट्रस हटाउन लिखित पत्र दिएको छ । १९ वटा पसलका पालि नगर प्रहरीले हटाएको छ । अधिकांश पाली घरधनीले नभई पसल सञ्चालकले राखेको भेटिएको हाछेथुले बताए ।

 


घाम र पानी छेक्न पसल सञ्चालकले यस्तो पाली बनाउँदै आएका छन् । मापदण्डविपरीत भएको भन्दै महानगरले त्यस्ता पाली हटाउने निर्णय गरेको हो । ‘सबैतिर माइकिङ गरेर जानकारी गराएका छौँ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘पत्र दिएको ३ दिनमा घरधनी र पसल सञ्चालकले नहटाए हामी आफैं हटाउँछौँ ।’

 

मापदण्डविपरीत राखिएका ट्रसका कारण सहरको सौन्दर्यमा ह्रास आएको र हुरीबतास आउँदा सेड खसेर पैदल यात्रुलाई लागेर दुर्घटना हुने सम्भावना हुने ललितपुर महानगरको निष्कर्ष छ । पाली राखेपछि पसल सञ्चालकले पैदल यात्रुलाई बाधा पर्ने पसलको सामान अन्य फुटपाथ ढोकर राख्ने गरेका छन् ।

 

स्थायी संरचना नभत्काउने र स्वीकृत नक्साबाहेक थप गरिएका ट्रस मात्र निकाल्न थालिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । उनले भने, ‘घरधनीले भाडामा दिएपछि पसल सञ्चालकले त्यस्तो पाली राखेको र त्यसबाट घरको स्वरूप बिग्रिएको गुनासो गरेका छन् ।’ महानगरको पत्र बुझेका ६० प्रतिशतले आफैं निकालेका छन् । केही पसल सञ्चालकले २ दिन थप समय मागेका छन् ।