close

ऋषिङमा पृथ्वी जयन्तीको बिदा

ऋषिङमा पृथ्वी जयन्तीको बिदा

Trulli
ADVERTISEMENT

तनहुँ–तनहुँको ऋषिङ गाउँपालिकाले आउँदो २७ पुसमा पर्ने पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए ।

 

गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दै छ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ । खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भन्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुंगाडे, चालिसे, भीरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुंगिनेछ ।


स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भन्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुंगिनेछ भने महिलातर्फ ४ किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरबार पुगेर टुंगिनेछ ।

 

खुलातर्फ प्रथम हुनेलाई ६५ हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र सान्त्वना ३ जनालाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ६ हजार र सान्त्वना एक जनालाई २ हजार रुपैयाँ पुरस्कार दिइनेछ । महिलातर्फ प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ५ हजार र सान्त्वना १ जनालाई २ हजार रुपैयाँले पुरस्कृत गरिने पालिकाले जनाएको छ ।