close

घट्यो इलामको जौबारी बजारको चहलपहल

घट्यो इलामको जौबारी बजारको चहलपहल

Trulli
ADVERTISEMENT

इलाम–इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइरहन्थे । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउँथे । 

 

हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयवासीको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी बजार पुर्‍याउने र दैनिक उपभोग्य वस्तु नेपाल भित्रियाउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भएपनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुको मूल्य बढी पर्ने गरेको सन्दकपुर गाउँपालिकाका किसान खतिवडाको भनाइ छ । 

 

विशेष गरेर अलैँची, कुचो, अदुवालगायतका वस्तु सो बजारमा महँगो मूल्यमा बिक्ने गरेको थियो । त्यस्तै नेपालीहरुका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तु पाइने भएकाले हालको सन्दकपुर गाउँपालिका मात्र नभइ, माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार नै जौबारी रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारमाथि भर पर्ने गरेका थिए ।

 

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सिमासँग जोडिएका कारण किसानले सयंै खालका सामान खरिद बिक्री गर्ने केन्द्रको रुपमा नै विकसित भएको थियो, जौबारी बजार । भारतीय व्यापारीको बाक्लो बसोबास भएकाले नेपाली गाउँघरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्यो । 

 

इलामको सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्रायः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हुँदै जौबारी नघुमी फर्कदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँ बजारमा भन्दा बढी चहलपहल र ठूलो बजारको रुपमा रहेको थियो, जौबारी । त्यसैले पनि सबै जौबारी जानैपर्ने बाध्यता जस्तै भएको सन्दकपुर गाउँपालिका– ३ का सन्तोष खतिवडाको भनाइ छ । 

त्यसो त हिउँदको समयमा गाउँघरमा गाडी पुग्ने ठाउँसम्म आफैं किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराईले बताए । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने भट्टराई सोही क्षेत्रका स्थानीयवासी पनि हुन  । उनले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु पर्दैनथ्यो । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसाबमा इतिहासमा सीमित बन्ने पक्का जस्तै भएको छ । 

 

पछिल्लो समय निकै ठूलो कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माईजोगमाईको प्रमुख बजारका रुपमा परिचित जौबारी हाल सुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकाले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । यसरी जौबारी व्यापारी केन्द्रको रुपमा राम्ररी फस्टाउँदै गएको समयमा नेपालको १० वर्षे सशत्र द्वन्द्वले जौबारीलाई पनि अछुतो राख्न सकेन ।

 

 भएको प्रहरीचौकी पनि सुरक्षाको कारण देखाउँदै सदरमुकाम तानिएपछि भारतीय व्यापारीले दिनगन्ती गन्दै जौबारी छोड्न थाले । हुन त सो क्षेत्रका सशस्त्र प्रहरीको बिओपी स्थापना भइसकेको छ । तर बिओपी स्थापना हुँदैमा अब सो बजार स्थापना हुनसक्ने स्थितिमा नै छैन । त्यहाँ रहेको थोरै व्यापारी पनि किसानले आफूले उत्पादित सरसमान अन्तै लान थालेकाले भएको व्यापार चल्न छोडेको भन्दै आ–आफ्नै ठाउँ पलायन भएको बताइएको छ । हाल जौबारी प्रायः सुनसान रहेको स्थानीयवासी थुक्तेन नोर्बुलामाको भनाइ छ । उनले भारतीय व्यापारी विस्थापित भएपछि बजार सुनसान जस्तै भएको बताए । सो बजारमा नेपाल तर्फबाट व्यापारीले समेत चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रबाट समेत सो क्षेत्रमा चहलपहलका लागि कुनै प्रयास नभएको उनले बताए । 

 

हुनत् जौबारीमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तु त्यहाँ बिक्रीका लागि लान छोडेका छन् । विशेषत त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् । किसानले उत्पादन गरेको घीउ र छुर्पीसमेत त्यस बजारमा महँगो मूल्यमा बिक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घीउ, छुर्पीले पनि बजार पाउन छाडेको छ । किसानले भारतका बजारमा पठाउने घीउछुर्पीकोसमेत मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित बस्तु लैजान छोडेको स्थानीयवासी दावा शेर्पाको भनाइ छ । किसानले घीउ छुर्पी तथा कृषि उपज बिक्री गरेर खाद्यान्न मात्र होइन, कपडालगायत अन्य सामग्रीसमेत ल्याउने गरेका थिए । तर हाल बजारमा सामान पनि छैन स्थानीय बजारमा किनमेल भनेर जाने गरेका पनि छैनन् । 

 

सीमा क्षेत्रमा रहेको जौबारी मात्र होइन, जिल्लामा सञ्चालित अन्य बजारको अवस्थासमेत उस्तै छ । जिल्लाको मानेभञ्ज्याङमासमेत उस्तै भीडभाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतिनगरमासमेत चहलपहल कमी नै भएको छ । तर यहाँ किनमेल नै ठप्प भएको भने हैन । व्यापारमा कमी आएपछि त्यहाँका व्यापारी विस्थापित हने खतरा बढेको छ । विशेष गरेर पशुपतिनगरमा हाल कपडाकै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राइको भनाइ छ । उनले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेकोसमेत बताए। यो कोरोनापछि अझ व्यापार घटेको छ ।

 

पलायन हुन लागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासीको भनाइ छ । व्यापारीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीको भनाइ छ । सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईलेसमेत सो क्षेत्रमा चहलपहल बढाउन निजी क्षेत्रबाट मात्र सम्भव नभएकाले सरकारी निकायबाट पहल चाल्नुपर्नेमा जोड दिए।

 

 त्यस क्षेत्रका भारतीय व्यापारी भारत नै फर्किन थालेका छन्् भने स्थानीय व्यापारी विर्तामोड, विराटनगरलगायत स्थानमा जान थालेको व्यापारीको भनाइ छ । स्थानीय सरकारले सहुलियतका कार्यक्रम ल्याउन सके पलायन हुनलागेका व्यापारी थामिने व्यवसायीको भनाइ छ । बैंकहरुसँग सहकार्य गरेरसमेत सो कार्यक्रम सञ्चालन हुनुपर्ने उनीहरुको भनाइ छ ।

 

कोभिड सुरुभएपछि सीमा क्षेत्रमा मात्र हैन, धेरै ठाउँमा यस्तै समस्या भएको व्यापारीको भनाइ छ । तर सीमा क्षेत्रमा कसैको आँखा नपुगेको सो क्षेत्रका व्यापारीको दुखेसो छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण यतिबेला भारतीय पर्यटकको भीड लाग्ने इलामका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, जौबारी, सन्दकपुरलगायत सीमावर्ती बजार र पर्यटकीयस्थल प्रायः सुनसान भएका छन् ।