close

देशका अधिकांश स्थानमा पानी पर्‍यो 

देशका अधिकांश स्थानमा पानी पर्‍यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम सुधार हुने पूर्वानुमान छ ।

 

मौसमविद मञ्जु वासीले भनिन्, ‘कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भएको छ । यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट भने मौसममा क्रमिक सुधार आउँछ ।’ उनले काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने पनि बताइन् ।

 

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको मौसमविद वासीले बताइन् ।

 

गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ ।

 

राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ । मौसमविद मञ्जु वासीका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन तर आकाश खुलेकाले अत्यधिक चिसो बढ्ने छ ।

 

यस्तो हुने छ तीन दिनको मौसमी अवस्था

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

 

यसैगरी माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

माघ १ गते राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।