close

जुम्लामा सवारीसाधनको नयाँ भाडादर निर्धारण

सरकारी दररेट नमान्ने यातायात व्यवसायीको अडान

जुम्लामा सवारीसाधनको नयाँ भाडादर निर्धारण

सरकारी दररेट नमान्ने यातायात व्यवसायीको अडान

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा साना तथा ठूला यात्रुवाहक सवारीको भाडादर निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको लामो तथा छोटो दूरीका सवारीको भाडादर कार्यान्वयनका लागि यातायात व्यवस्था सेवा कार्यालय, प्रहरी प्रशासन, नागरिक समाज, राजनीतिक दल र यातायात व्यवसायीबीच छलफल गरी भाडादर निर्धारण गरिएको हो ।

 

जुम्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीले मनपरी महँगो भाडा लिएको जनगुनासो बढेपछि सरकारले तोकेको भाडादर निर्धारण र कार्यान्वयनका लागि छलफल गरिएको हो । 

 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘प्रत्येक यात्रुवाहक सवारीमा भाडादर अनिवार्य टाँसिएको हुनुपर्छ । सर्वसाधारणबाट व्यापक गुनासो आएको छ । आफूखुसी भाडा लिने, यात्रुले सास्ती पाउन थालेपछि सरकारी भाडादर कार्यान्वयनमा लगेका हौँ ।’

 

यातायात व्यवसायीका आफ्नै समस्या भए पनि नागरिकलाई सेवा दिने सवालमा नाफामुखी मात्र नभई सेवामुखी बन्नसमेत प्रजिअ प्रसाईंको आग्रह छ । यातायात व्यवस्था कार्यालयले लामो दूरीमा किमिका आधारमा जुम्लादेखि मान्मा बसमा ४४०, मिनिबसमा ५४० र जिपमा ६३५ रुपैयाँ, जुम्लादेखि सुर्खेत बसमा ८४०, मिनिबसमा १ हजार ३०, जिपमा १२ सय ९ रुपैयाँ र जुम्लादेखि काठमाडौंसम्म १२ सय ८३ रुपैयाँ बस भाडा निर्धारण गरिएको छ । 

 


त्यस्तै, छोटो दूरीमा जुम्लादेखि उम्गाड, बस २७, जिप भ्यान ४० रुपैयाँ, जुम्लादेखि लाम्रासम्म बस ४४ र जिप भ्यान ६४ रुपैयाँ, जुम्लादेखि तातोपानी बसको ६५ र जिप भ्यान ९६, जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ, जुम्लादेखि रारालिहीसम्म बसको १३५ एवं जिप भ्यानको २ सय र जुम्ला बजारदेखि नाग्मसम्म बसको १७३ र जिप भ्यानको २५६ रुपैयाँ भाडादर निर्धारण गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए ।

 

उनका अनुसार छोटो दुरीमा चल्ने अटो रिक्साको ४० देखि बढीमा ७० रुपैयाँसम्म जुम्लादेखि नाग्मसम्मको भाडा तोकिएको छ । त्यस्तै, कच्ची सडकको पनि दूरीअनुसार भाडा निर्धारण गरिएको छ । 

 

यातायात व्यवसायीको भाडा नघटाउने अटेरी
जुम्लाका यातायात व्यवसायीको सरकारले निर्धारण गरेको भाडादर तत्काल कार्यान्वयन नगर्ने चुनौती दिएका छन् । इन्धनको मूल्य दैनिक बढ्दै गएको अवस्थामा भाडा घटाएर व्यवसाय धरापमा पार्ने गरी सेवा दिन नसकिने यातायात व्यवसायीको अडान छ । तिला कर्णाली यातायात प्रालिका इन्चार्ज इन्द्र थापाले तेलको मूल्य नघटी, पाटपुर्जाको मूल्य नघटी, मेकानिकल खर्च नघटेसम्म भाडा घटाउने स्थिति नरहेको बताए । 


उनले भने, ‘विगतमा छोटो÷लामो दूरीमा कममा ६० देखि बढीमा १५ सय रुपैयाँसम्म लिएका हौँ । तर, अहिले दैनिक डिजेल, पेट्रोलको मूल्य बढ्दै जान थाल्यो । त्यसरी नै पाटपुर्जाको मूल्य बढेको छ । कसरी भाडा घटाउने ? यो निर्णय मान्दैनौँ ।’ 


जुम्लामा काँक्रेविहार यातायात, भैरवनाथ यातायात, देउती यातायात, सन्राइज यातायातलगायत झन्डै १ दर्जन यातायात कम्पनी छन् । सबै यातायात व्यवसायीले तेलको मूल्य नघटेसम्म भाडा कुनै पनि हालतमा नघाउने बताएका छन् ।