close

ललितपुर महानगरले थाल्यो सवारी जामरहित अभियान

ललितपुर महानगरले थाल्यो सवारी जामरहित अभियान

Trulli
ADVERTISEMENT

काठमाडौं–ललितपुर महानगरले जथाभावी सवारी पार्किङ निषेध गरेको छ । महानगरको सवारी जामरहित अभियानअनुसार अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई सचेत गराएर ‘ठाउँको ठाउँ’ जरिमाना तिराउँदै आएको छ ।

 

पछिल्लो १ महिनादेखि सुरु गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।  अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरिमाना तिराउँदा सर्वसाधारणले थप झन्झट बेहोर्नुपर्ने निष्कर्ष निकाल्दै महानगरले ठाउँको ठाउँ जरिमाना गराएर सचेत गराउने र सवारीधनी नभेटिए सवारीलाई मात्र महानगरले उठाउने गरेको छ ।

 

ललितपुर महानगरभित्र जथाभावी पार्किङ गरेर हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकाले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए । अनधिकृत पार्किङको जरिमाना गर्ने अधिकार महानगरलाई भएकाले ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही र सचेतना प्रक्रियालाई तीव्रता दिइएको उनले जानकारी दिए ।

 

नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ललितपुर महानगरभित्रका सबै क्षेत्रको फुटपाथ र नो पार्किङ राखिएका स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ गर्ने र जरिमाना तिराएर मात्र छाड्ने गरेको छ ।

 

‘नो पार्किङ र फुटपाथमा पार्किङ गरी पैदल यात्रु र अन्य सवारीलाई असर गरेका मोटरसाइकल तथा स्कुटर र चार पांग्रे सवारीलाई कारबाही प्रक्रिया अगाडि बढाएका हौँ,’ नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘हामीले यसको अवलोकन र कारबाहीका लागि महिला नगर प्रहरीलाई तालिम दिएर परिचालन गरेका छौँ । उहाँहरूले कारबाही गरी जरिमाना ठाउँको ठाउँ गर्नुहुन्छ ।’

 

जथाभावी पार्किङ गरेर छाडेका सवारी साधनलाई कारबाहीस्वरूप ‘ह्वील लक’ गर्ने र सवारीमा ‘निषेधित क्षेत्रमा सवारी पार्क गरिरहेकाले तपाईंको सवारी लक गरिएको छ’ भनेर सूचनासमेत दिइने गरेको छ । उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङ निरुत्साहित गर्न उक्त सवारी साधनलाई कारबाही गर्दै सचेत गराइएको हाछेथुले
बताए ।

 

महानगरका अनुसार हालसम्म १५ सय बढी मोटरसाइकल र ७९ चार पांग्रे सवारीलाई जरिमाना गराइएको छ । पूर्वट्राफिक प्रहरी निरीक्षकसमेत रहेका हाछेथुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गर्दै आएको कामका लागि बधाइ दिँदै जनताको मन जित्ने काम गर्न सुझाव दिए । 

 

‘ललितपुर महानगर प्रहरीको काम उत्कृष्ट छ, हामी प्रहरीलाई नै केही हदसम्म सघाएको छ । छुट्टै पोसाक मात्र होइन, काम पनि फरक छ । महानगरलाई आवश्यक परेको सल्लाह दिन नेपाल प्रहरी तयार छ’, क्षेत्रीले हाछेथुको प्रशंसा गरे । महानगरले सडकमा बिग्रिएर सडक जाम हुने गरी बसेका सवारीलाई त्यहाँबाट हटाएर ग्यारेजसम्म पु¥याइदिने भएको छ । 

 

महानगरले हालै दुई वटा अत्याधुनिक गाडी उठाउने सवारीमार्फत लामो समयदेखि सडकमै बिग्रिएर बसेका र दुर्घटनामा परी गुड्न नसक्ने भएका सवारीलाई उठाएर सम्बन्धित स्थानमा पु-याइदिने भएको हो ।  ‘हामीले सडकमा बिग्रिएर बसेका वा दुर्घटनामा परी गुड्न नसक्ने भएका सवारीलाई त्यहाँबाट ग्यारेज या सम्बन्धित ठाउँसम्म पु-याइदिन्छौँ’, हाछेथुले भने, ‘बिग्रिएका सवारी बेलैमा नहटाउँदा सडक जाम हुने भएकाले त्यो नियन्त्रणमा लागि यस्तो अभियान सुरु गरेका हौँ ।’

 

यदि कसैको गाडी बीच बाटोमै बिग्रिएर गुड्न नसक्ने भए महानगरलाई सम्झनसमेत उनको आग्रह छ । ‘यदि कसैको गाडी बिग्रिएर वा दुर्घटनामा परेर गुड्न नसक्ने भएको छ भने ललितपुर महानगरलाई खबर गर्नुहोस्, हामी सम्बन्धित ठाउँसम्म पु¥याइदिन्छाँै’, उनले भने । 

 

यस्तै, ललितपुर महानगरलाई स्वच्छ बनाउने अभियानअन्तर्गत मापदण्डविपरीत घरभन्दा बाहिर राखिएका ट्रस, सेड (पाली) समेत महानगरपालिकाले हटाउन सुरु गरेको छ । घाम र पानी छेक्नका लागि पसल सञ्चालकले त्यस्तो पाली बनाउँदै आएका छन् । 

 

अनावश्यक ट्रसका कारण सहरको सौन्दर्यमा ह्रास आएको र हुरीबतास आउँदा सेड खसेर पैदल यात्रुलाई लागेर दुर्घटना हुने सम्भावना हुने महानगरको निष्कर्ष छ । स्थायी संरचना नभत्काउने र स्वीकृत नक्साबाहेक थप गरिएका ट्रस मात्र निकाल्न थालिएको नगरप्रहरी प्रमुख हाछेथुले बताए ।

 

‘घरधनीले भाडामा दिएपछि पसल सञ्चालकले त्यस्तो पाली राखेको र त्यसबाट घरको स्वरुप बिग्रिएको गुनासो गरेका छन्,’ उनले भने, ‘हाम्रो कामलाई स्थानीयले पूरा साथ दिनुभएको छ । आफैं हटाउन नसक्नेलाई महानगरले हटाउन सहयोग गरिरहेको छ ।’

 

ट्रस हटाउन महानगरले केही दिनको समय दिएर पत्र पठाउने गरेको छ । ‘महानगरको पत्र बुझेका ७० प्रतिशतले आफैंले निकालेका छन् । केही पसल सञ्चालकले दुई दिन थप समय मागेका छन्’, उनले भने, ‘हाम्रो अभियानलाई नगरबासीले साथ दिनुभएको छ ।’ 

 

पछिल्लो समय कोरोना भारइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएपछि महानगरले सतर्कता र सचेतना अभियान सुरु गरेको छ । महानगरभित्रका ऐतिहासिक सम्पदा, सपिङ मल, सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ ।

 

यस्तै, सडकमा मास्क नलगाएका व्यक्तिलाई बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिइने गरेको महानगरले जनाएको छ । सचेतना कार्यक्रमअन्तर्गत ललितपुर नगर प्रहरीले सचेतना जगाउने प्लेकार्ड र माइकिङसहित अभियान सुरु गरेको छ ।

 

‘कोभिड–१९ का अन्य भेरियन्टजस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्क सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, हावा आउजाउ राम्रो हुने स्थानमा बस्नेलगायत सबै जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ’, महानगरप्रमुख महर्जनले भने, ‘यसका लागि महानगर सधैँ तयार छ ।’