close

अनलाइनमार्फत भन्सार महसुल भुक्तानी सुविधा

अनलाइनमार्फत भन्सार महसुल भुक्तानी सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बुधबार भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका गरेका छन् । ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा उनले इपेमेन्ट प्रणाली सुरु गरेका हुन् ।


इपेमेन्ट प्रणाली सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत तिर्न सक्नेछन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहज हुने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै नयाँ युगको सुरुआत भएको उनले बताए ।


‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगायतका लागि यसले महत्त्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै, उनले भन्सारबिन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । भन्सारको निरन्तर सुधारअन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।


मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्ट सुरुआत गरेका छौँ । छिट्टै प्रमुख भन्सारमा स्क्यानरको पनि सुरुआत गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन, राष्ट्रिय सुरक्षाका लागि त्यो महत्त्वपूर्ण साधन हुनेछ ।’ 

 

सबै वस्तु आवश्यक पर्ने मात्र नआउने बताउँदै उनले नेपाल र छिमेकी राष्ट्रको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्त्वपूर्ण हुने उल्लेख गरे । उनले भन्सार बिन्दुमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टाइन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ ।


निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रका सुझाव सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने विश्वास उनले दिलाए । यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृंखलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै अर्थतन्त्र धराशयी नभएको अर्थमन्त्री शर्माको दाबी छ । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।


कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिम व्यवस्था हुनुपर्नेमा जोड दिए । भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने बताउँदै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो औँल्याए ।

 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमै असर परिरहेको उनको जिकिर छ । सोही कारण नयाँ पिँढी व्यवसायमा आउन निरुत्साहित भइरहेको उनले उल्लेख गरे । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइने गरिन्छ छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।