close

म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

Trulli
ADVERTISEMENT

म्याग्दी–म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।  हिउँमा खेल्न लेकमा जाने  आन्तरिक पर्यटकले  जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र  दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको  बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ’, उनले भने, ‘धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द आयो ।’

 

उनीसँगै हिउँ खेल्न जिल्लको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएका सुमन रिजालले पनि पहिलोपटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताए । ‘चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो’, उनले भने, ‘यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ ।’

 

जिल्लाका छवटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो । सरदमुकाम बेनी बजारबाट नै गाउँका डाँडामा परेको हिउँको दृश्यावलोकन गर्न सकिने भए पनि हिउँसँग खेल्न लेकमा नै उक्लनुपर्दछ । जिल्लाका पर्यटकीयस्थल घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानीलगायतका स्थानमा हिउँ खेल्न शनिबार उल्लेख्य मात्रामा आन्तरिक पर्यटक पुगेका थिए । सदरमुकाम बेनीबजारबाट ती क्षेत्रमा पुग्न गाडीमा दुईदेखि पाँच घण्टाको समय लाग्छ । यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

 

बँेसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । ‘हिउँमा खेल्न आएका मानिसले केही न केही खानेकुरा किनेर खाने गर्छन्, यका कारण यहाँको व्यापार बढेको छ’, होटल व्यवसायी मोहन खत्रीले भने । हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटलमा छिर्ने गरेको जनाउँदै उनले हिमपातका कारण स्थानीय होटल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिए ।

 

शनिबार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मात्रै हिउँ खेल्नका लागि ३०० भन्दा बढी युवायुवती पुगेका टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथीलगायतका दर्जनौँ मनोरम हिमशृङ्खला देखिनुका साथै यस समय वनैभरि राताम्यै फुलेको लालीगुराँससग रमाउन पाइन्छ ।

 

हिमपातले कृषि क्षेत्रलाई राहत, किसान उत्साहित

माघको तेस्रो साता परेको हिमपातका कारण बाली सप्रिने र खेतीपातीमा चिस्यान कायम रहने भएकाले म्याग्दी र मुस्ताङका कृषक उत्साहित भएका छन् । तेस्रोपटक भएको भारी हिमपातले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुशी भएका हुन् ।

 

मुस्ताङका  स्याउ किसान शेभन गुरुङले हिमपातले यस क्षेत्रको हिउँदे बालीलाई निकै फाइदा पुर्‍याउने बताए । उनका अनुसार समयमै परेको हिमपातले स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ सङ्कलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाइ पहुँच नभएको ठाउँमा राहत पुग्ने उनले जानकारी दिए । 

 

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ । विशेषगरी अहिलेको हिउँले स्याउ बगैँचालाई फाइदा पुग्ने भएकाले कृषिमा आश्रित म्याग्दी र मुस्ताङका झण्डै ४० हजार घरधुरी लाभान्वित हुने भएका छन् । यता हिमाली जिल्ला म्याग्दीका किसान पनि चिसोका कारण केही समय समस्या भए पनि हिउँदे वर्षा र हिमपातका कारण गहुँ, जौँ, उवा, फापर, आलुलगायत सागपात र फलफूलको उत्पादन राम्रो हुने भएकाले खुशी भएका छन् ।

 

यस वर्ष पटक–पटक हिमपात र वर्षा भएकाले किसान भने कष्टकर जनजीवनबीच पनि उत्साही छन् । ‘आकाशे वर्षाले गहुँ, जौँ, उवा, फापर, आलुलगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले जनजीवन कष्टकर भए पनि हामी खुशी छौँ । गहुँ, जौँ, उवाजस्ता खेतीबाली र स्याउसमेतका हिमाली फलफूल समयमा हिउँ पर्दा फस्टाउँछन्,’ कृषक रणबहादुर विकले भने ।

 

वर्षा र हिमपातले जिल्लाका किसान औधी खुशी  भएका छन् । यहाँका उच्च पहाडी क्षेत्रमा गुर्जामा पाँचौँपटक र अन्य क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो । यसअघि गत पुस १३  गते पनि यहाँ हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि  हिउँदेबाली बाली सप्रिने बताइन्छ ।