close

पर्यटक आकर्षित गर्न जिरीले बनायो स्टोन पार्क 

पर्यटक आकर्षित गर्न जिरीले बनायो स्टोन पार्क 

Trulli
ADVERTISEMENT

दोलखा–दोलखाको जिरी नगरपालिकाले वडा नम्बर १ खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुंगा रहेकामा ती ढुंगालाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरेर पार्क निर्माण गरेको छ । पहिले रक गार्डेन भनिएको यस ठाउँलाई वडाबाट स्टोन पार्कको नामकरणका लागि प्रस्ताव नगरपालिकामा पेस गरेर पार्क निर्माण गरिएको जिरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लाक्पा शेर्पाले बताए ।

 

उनका अनुसार पार्क निर्माणमा स्थानीय र प्रदेश सरकारको करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । पार्कको सभाहल कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाको सहयोगमा निर्माण गरिएको हो । पार्कलाई आगामी दिनमा टुरिजम हाइकिङमा विकास गरेर पर्यटकीय हबको रूपमा विकास गरिने जिरी नगरपालिकाले जनाएको छ ।


सयौँ ठूलाठूला ढुंगासहित घाँसे मैदानले ढाकिएको पार्कमा गुरु रिम्पाोचे, शिवजीको मूर्ति निर्माण गरिएको जानकारी दिँदै वडाध्यक्ष शेर्पाले भने, ‘ढुंगामाथि बनाइएका यी मूर्ति पर्यटकका लागि थप आकर्षक बन्न पुगेका छन् ।’ पार्कलाई तारबार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतीक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङ गरिएको छ ।


प्राकृतिक मनोरमको धनी स्टोन पार्कको नजिकैबाट पूर्वोत्तरमा देखिने हिमशृंखलासमेत यहाँबाट देख्न सकिन्छ । यो पार्कमा शनिबार २ सयसम्म पर्यटक घुम्न आउने गर्छन् । पछिल्लो समय नेपाली चलचित्र र म्युजिक भिडियोको सुटिङ गर्न कलाकार स्टोन पार्क आउने गरेको उनले बताए । 

 

दयाङ राईको मुख्य भूमिका रहेको चलचित्र वीर विक्रममा समेत यो पार्कको सुन्दर दृश्य कैद गरिएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माणाधीन स्टोन पार्कमा अझै विकास र प्रचार–प्रचारका काम गर्न बाँकी रहेको अध्यक्ष शेर्पाको भनाइ छ । आन्तरिक पर्यटकलाई लक्षित गरेर स्टोनपार्कमा थप पूर्वाधार विकास गरिएको र यसलाई दोलखा, रापेछापकै उत्कृष्ट पर्यकटीय स्थल बनाइने अध्यक्ष शेर्पाले दाबी गरे ।

 

पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बुलगायत अन्य जिल्लाबाट आन्तरिक तथा विदेशी मुलुकबाट पनि मानिस घुम्न आउने गरेका छन् । स्टोनपार्क हुँदै जट्टापोखरी र पाँचपोखरी पैदल जान सकिन्छ । समुद्र सतहबाट करिब १ हजार ८७६ मिटर उचाइमा रहेको स्टोनपार्क दोलखा र रामेछापको सिमानामा छ । स्टोन पार्क पुग्न दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली, यलुङ हुँदै जान सकिन्छ । यस्तै, जिरीबजार, कुने, सिउरानी, ठोसे, शिवालय हुँदै पनि पुग्न सकिन्छ । जिरी शिवालयबाट गर्जाङ देउरालीसम्म यातायातको सुविधा छ ।