close

चन्द्रागिरिले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा 

चन्द्रागिरिले सुरु गर्‍यो आफ्नै भवनबाट सेवा 

Trulli
ADVERTISEMENT

काठमाडौं–काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको  छ ।  उपत्यकाको मौलिक, सांस्कृतिक  एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित  छ तलाको सोही  भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ । भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा  नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन  १ करोड ५७ लाख रुपैयाँको लागतमा सम्पन्न भइसकेको जनाइएको छ ।  

 

चन्द्रागिरि– १२  गुर्जुधारामा रहेको  सात रोपनी जमिन मध्ये  तीन  रोपनीमा   प्रशासकीय भवन बनेको छ भने  चार रोपनीमा बाहिरी  बगैँचा लगायतको संरचना निर्माणाधीन छन् ।  काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका  तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री नवनिर्मित   भवन  अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ  । 

 

 भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित  सो भवनमा करिव २०० क्षमताको  सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ छ ।  जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गरे। उनीहरूले  नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए । 

 

ती दुई  स्थानीय तहका  संयुक्त साझेदारीमा  २५ करोड रुपैयाँको लागतमा भवन सहित बााहिरी आकर्षक बगैँचा  सम्पन्न हुन लागेको हो ।  सो रकम मध्ये समन्वय समितिको १० करोड रुपैयाँ र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।  

 

 नगरपालिकाका १५ वडा मध्ये अधिकाशंले  आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन् ।  पछिल्लो समय वडा नं ३ र ४ वडाको नयाँ कार्यालय भवन हाल मात्र निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेलले  जानकारी दिए । 

 

सो अवसरमा नगरप्रमुख गिरीले भने, ‘नवनिर्मित नगरपालिकाको आफ्नै भवनबाट  एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा  थियो । यस कार्यमा सफलता मिलेको छ ।’ समन्वय समिति काठमाडौँका प्रमुख  राजवैद्यले महामारीका बीचमा भवन निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा समन्वय समिति र नगरपालिकाका बीचमा सहकार्य जारी रहने जानकारी दिए । 

 

 कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत (सातौँ तह ) का  सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा १३ आँै साग खेलकूद प्रतियोगितामा चन्द्रागिरी नगरनिवासी पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कराँतेमा स्वर्णपदक विजेता प्रवीण मानन्धर, बक्सिङमा रजत पदक विजेता ललिता महर्जन, भलिबलमा रजत पदक विजेता प्रतिभा माली, सलिना श्रेष्ठ, रेश्मा भण्डारी तथा  प्रशिक्षकद्वय कराँतेका  वीरकृष्ण शाही र बक्सिङका दीपक महर्जन हुन् । कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मीले नगरका विकासका गतिविधिबारे चर्चा गरेकी थिइन् ।